निर्वाचन आयोगमा कल सेन्टर सञ्चालन

काठमाडौं। फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सोमबारदेखि कल सेन्टर स्थापना गरेको छ । आयोग परिसरमा कल सेन्टरको स्थापना गरिएको हो।
निर्वाचनका सिलसिलामा मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइका लागि कल सेन्टरको स्थापना गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो।
भट्टराईले भन्नुभयो, ‘कल सेन्टर आजबाट सुरु भएको छ। अहिले हामी कार्यालय समय बिहान ९ देखि साँझ ६ बजेसम्म सेवा दिन्छौँ।समय क्रमशः थपिँदै लगिने छ।’
आयोगले कल सेन्टरमा ६ वटा डेस्कमार्फत सेवा प्रदान गर्नेछ । निःशुल्क टोल–फ्री नम्बर ११०२ मा कल गरेर मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा राख्ने सक्नेछन्। एकै पटक १५ जनासम्मले फोन गर्दा कलहरु होल्डमा रहनुपर्ने छैन।
सोमबारदेखि सुरु भएको कल सेन्टर निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण अवधिसम्म सञ्चालनमा रहने छ।

