अन्तरक्रिया कार्यक्रम सम्पन्न

१७ भदौ २०८०

निर्वाचन आयोगले स्थानीय तहको समन्वय र सहकार्यमा मतदाता दर्ता तथा अद्यावधिक र निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने योजना बमोजिम आवश्यक कार्यविधिहरुको मस्यौदा तयार गरेको छ । उक्त मस्यौदा उपर छलफल गरी पृष्ठपोषण प्राप्त गर्ने उदेश्यले लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा सम्वत् २०८० भाद्र ८ गते जिल्ला समन्वय समिति लमजुङका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय अधिकारीका साथै ८ वटै पालिकाका प्रमुख एवं अध्यक्ष, उपप्रमुख एवं उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भयो ।

उक्त छलफल कार्यक्रमका प्रमुख अतिथि माननीय निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले संवैधानिक दायित्व र जिम्मेवारी अनुसार निर्वाचन आयोग निर्वाचन व्यवस्थापन सम्बन्धी कार्य स्थानीय तहसम्म लैजान लागेको उल्लेख गर्नु हुँदै उहाँले कानुनी व्यवस्था मिलाएर स्थानीय तहका वडासम्म आयोगका कार्यक्रम पु¥याउने प्रतिवध्दता व्यक्त गर्नु भयो । जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्ण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न एक दिने उक्त कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै छलफल कार्यक्रमका लागि लमजुङ जिल्लालाई छनौट गर्नुभएकोमा उहाँले आयोलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आयोगले कार्यविधि निर्माण गरी स्थानीय तहको समन्वय र सहकार्य मार्फत गर्न लागेका कार्यहरु प्रशंसनीय रहेको बताउनु हुदै यसबाट लोकतन्त्रको सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो।
आयोगको तर्फबाट उपसचिव सूर्य प्रसाद अर्यालले प्रस्तावित मस्यौदाहरु स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि र निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम संचालन कार्यविधि उपर प्रस्तुतीकरण गर्नु भएको थियो । प्रस्तुत मस्यौदाहरुका विषयमा सहभागीहरुबाट कर्मचारी तथा स्रोत व्यवस्थापन, समिति गठन व्यवस्था, कर्मचारी छनौट प्रक्रियाका मापदण्ड र आचार संहिताको व्यवस्था, कार्यक्रम संचालनमा निश्पक्षता कायम गर्ने विषय लगायतका पक्षमा महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् ।

कार्यकमका केहि तस्विरहरु: