निर्वाचन व्यवस्थापन र सञ्चालनमा समीक्षाबाट प्राप्त हुने सुझाव महत्वपूर्ण हुन्छ : आयुक्त डा. तुलाधर

निर्वाचन आयुक्त माननीय डा. जानकी कुमारी तुलाधरले निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा विभिन्न चक्र हुने बताउँदै निर्वाचन पछि गरिने समीक्षा महत्वपूर्ण हुने बताउनुभएको छ । बारा जिल्लाको कलैयामा प्रतिनिधि सभा सदस्य उपनिर्वाचन, २०८० को समीक्षा कार्यशालाको आज उद्घाटन गर्दै आयुक्त डा. तुलाधरले निर्वाचन अघि निर्वाचन सम्बन्धी नियमावली, कार्यविधि र अन्य आवश्यक नीति निर्देशन बनाई निर्वाचन सफल बनाएका बताउनुभयो । अहिले हामी निर्वाचन सम्पन्न पश्चात् निर्वाचनको समीक्षा गररहेका छौँ । जस अन्तर्गत यस कार्यशालाका सहभागीहरुले दिनु भएका सुझावले निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानुन र निर्वाचन सम्बन्धी रणनीति बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । उपनिर्वाचनमा निर्वाचन व्यवस्थापनका क्रममा आएका समस्या चुनौती समस्याहरु राखी भविष्यमा हुने निर्वाचनमा पुनः नदोहोरिने गरी न्यूनिकरण गर्न मद्दत पुग्ने आयुक्त तुलाधरले उल्लेख गर्नुभयो ।
स्वच्छ, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन सम्पन्न गर्नमा साथ दिनु भएकोमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सबै सुरक्षाकर्मी, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, स्वयंसेवक तथा सबै निर्वाचन व्यवस्थापनमा खटिनु भएका सबैमा उहाँले धन्यवाद दिनुभयो ।
कुनैपनि निर्वाचन निर्वाचन आयोगले एक्लैले गर्न नसक्ने बताउँदै आयुक्त डा. तुलाधरले सरोकारवाला सबैले आ–आफ्नो भूमिका र कर्तव्य इमान्दारीपूर्वक निर्वाह गर्नु भएकोले उपनिर्वाचन सफलतापूर्वक सम्पन्न भएको हो भन्नुभयो ।
गत निर्वाचनमा आयोगबाट नयाँ नयाँ असल अभ्यासको थालनी गरिएको उल्लेख गर्दै उहाँले मतदानको १ दिन अघि १८ वर्ष उमेर पुरा गरेका मतदाताले मतदानको अधिकार सुनिश्चित गरिएको, १०० वटा मतदान स्थल र ३९२ मतदान केन्द्रलाई पहुँचयुक्त बनाइएको, स्थानीयले तहका स्वयंसेवक मार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । मतदाताको संख्या र पहँुचलाई ध्यानमा राखी मतदान केन्दको थपघट गरिएको र मतदानमा प्राथमिकता, मतदाता परिचयपत्र वाहेक अन्य सरकारी निकायले जारी गरेको परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको पनि सो अवसर आयुक्त डा. तुलाधरले बताउनुभयो ।
निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार तथा देषपूर्ण अभिव्यक्तिको रोकथाम गर्न विभिन्न संस्थाहरुसँग सहकार्य तथा पूर्ण रुपमा नियमन गरिएको थियो । त्यसैगरी सामाजिक सञ्चालमार्फत मतदाता शिक्षा तथा निर्वाचन सम्बन्धी जानकारी मतदाताले तुरुन्त पाउने गरी सम्प्रेषण गरिएको थियो ।
आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी एप्स तथा निर्वाचन परिणाम तथा इबुलेटिन मार्फत आयोगको धारणा सकेसम्म छिटो सार्वजनिक गर्ने व्यवस्था मिलाएको थियो ।
त्यसैगरी समीक्षा कार्यशालामा मुख्य निर्वाचन अधिकृत माननीय मुकेश उपाध्यायले निर्वाचको संवेदनशील र चुनौतीलाई पार गर्दै निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा सबै जिल्लाका सरोकारवालाहरुलाई धन्यवाद दिनुभयो ।
निर्वाचनमा सामाजिक सञ्जालबाट केही चुनौती आए पनि त्यसको सही ढंगले शान्तिसुरक्षाको व्यवस्था भएको उहाँले बताउनुभयो । निर्वाचन आचारसंहिता पालना सम्बन्धी अनुगमन विशेष रुपमा गरिएको र यसमा आयोगबाट महत्वपूर्ण सहयोग प्राप्त भएको उहाँले बताउनुभयो ।
यस कार्यशालाले हिजो, आज र भोलिका निर्वाचनको व्यवस्थापन गर्न महत्वपूर्ण सझुाव प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नु भएको थियो ।
बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले कार्यशालाको उद्देश्य प्राप्ती र सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रममा मतदानमा जिल्लास्थित सुरक्षा प्रमुखहरु, मतदान अधिकृत, स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्ति, राजनीतिक दल तथा नागरिक समाजको उपस्थिति रहेको थियो ।