संवत् २०८२ साल माघ १० गतेदेखि १८ गतेसम्म सम्पादन भएका मुख्य-मुख्य कार्यहरू

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी अन्तर्गत गतहप्ता संयुक्त निर्वाचन सञ्चालन केन्द्र (JEOC) स्थापना, निर्वाचन आचारसंहिता कार्यान्वयन, निजी क्षेत्रका छाता संस्थाहरूसँग छलफल, कल सेन्टरमार्फत सरोकारवालाहरूका जिज्ञासा सम्बोधन लगायतका कार्यसम्पादन गरेको छ। ती कार्यहरूको संक्षिप्त विवरण यस प्रकार छ:
(क) संयुक्त निर्वाचन सञ्चालन केन्द्र (JEOC) सञ्चालन
निर्वाचन अनुगमन निर्देशिकाको दफा ११ मा भएको व्यवस्था अनुसार निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (Joint Election Operation Centre-JEOC) स्थापना गरिएको छ। निर्वाचन आयोगका माननीय कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले माघ ११ गते एक कार्यक्रमका बीच उक्त केन्द्रको उद्घाटन गर्नुभएको हो। आयोगका सचिवको संयोजकत्वमा सञ्चालन भएको सो केन्द्रमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूको प्रतिनिधित्व रहेको छ। यस केन्द्रले निर्वाचन सम्बन्धमा जिल्ला तथा निर्वाचन क्षेत्रस्तरबाट प्राप्त सूचना विश्लेषण गर्ने र समस्याहरू पहिचान गरी समाधानका लागि सहजीकरण गर्ने कार्य गरिरहेको छ।
(ख) निर्वाचन आचारसंहिताको कार्यान्वयनमा सहजीकरण र नियमन
1. आचारसंहिता उल्लङ्घन सम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था:
आचारसंहिता उल्लङ्घनका घटनाका बारेमा नागरिकले सत्य-तथ्य प्रमाणसहित उजुरी दिनसक्ने गरी अलग्गै इमेल ecn.coc@election.gov.np को व्यवस्था गरिएको छ। प्राप्त उजुरीमा उजुरीकर्ताको पहिचान गोप्य राखी आवश्यक कारबाही अगाडि बढाउने गरिएको छ। जिल्ला आचारसंहिता अनुगमन समितिले समेत यस्ता अलग्गै इमेलको व्यवस्था गर्ने गरेका छन्।
2. जिल्ला आचारसंहिता अनुमगन अधिकृत तोकिएको:
जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ। जिम्मेवारी प्राप्त गरेको छोटो समयमै सबै जिल्लामा आचारसंहिता अनुमगन अधिकृतहरूले सरोकारवालाहरूलाई आचारसंहिताबारे जानकारी गराउने र
आचारसंहिता पालना गर्ने प्रतिवद्धता गराउने, जिल्लामा क्रियाशील राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी र सरोकारवालाहरूको बीचमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्ने, आचारसंहिता पालना भए नभएको बारे स्थलगत अनुगमन गर्ने, प्राप्त उजुरी तथा सूचनाका आधारमा सम्बन्धित व्यक्ति/संस्थालाई स्पष्टीकरण सोध्ने लगायतका कार्य गरिरहेको पाइएको छ।
3. बैंक खाता सञ्चालनका लागि नेपाल राष्ट्र बैंकलाई पत्राचार र निर्वाचन अभियान बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि तर्जुमा:
निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १६ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन अभियानको क्रममा गर्ने आम्दानी र खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा राजनीतिक दल तथा उम्मेदवारले अलग-अलग खाता खोलेर सो मार्फत रकम प्राप्त गर्ने र खर्च गर्ने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकमा पत्राचार गरिएको छ भने सो खाता खोल्ने र सञ्चालन गर्ने सम्बन्धमा “निर्वाचन अभियान बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, 2082” तयार गरिएको छ।
4. केन्द्रीय आचारसंहिता अनुमगन समितिमा प्राप्त उजुरीका आधारमा कारबाही अघि बढाइएको:
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका उजुरीमध्ये २१ वटा उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकोमा जम्मा १२ वटाको जवाफ प्राप्त भएको छ। समितिमा प्राप्त बाँकी उजुरीहरू अध्ययनको क्रममा रहेका छन्।
(ग) निजी क्षेत्रका संघ-संस्थाहरूसँग छलफल तथा अन्तर्क्रिया
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निजी क्षेत्रको भूमिका र दायित्व विषयमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी महासंघ नेपाल, होटल एसोसिएसन नेपाल, होटल तथा बार एसोसिएसन नेपाल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका प्रमुख तथा प्रतिनिधिहरूसँग माघ १३ गते छलफल भएको थियो। उक्त छलफलमा सबै संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवम् समावेशी बनाउनका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताउनुका साथै आ-आफ्नो क्षेत्रले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।
(घ) कल सेन्टर सञ्चालन
आयोगले माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा माघ १७ गतेसम्म जम्मा १,६७७ वटा जिज्ञासा तथा प्रश्नहरू प्राप्त भएका छन्। ती मध्ये मतदाता नामावली सम्बन्धी ९०६ वटा, निर्वाचन आचारसंहिता सम्बन्धी १३५ वटा, मतदाता शिक्षा सम्बन्धी ६१ वटा र अन्य ५७५ वटा रहेका छन्।
(ङ) हानिकारक सूचना पहिचान र कारबाही सिफारिस
निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको
दायरामा ल्याउन आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र (EIDC) अन्तर्गत सूचना सदाचार प्रवर्द्धन इकाई (IIPU) पूर्ण रूपमा क्रियाशील छ। हानिकारक सूचना उत्पादन एवम् सम्प्रेषण गर्ने १२० वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा र ६ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ। त्यस्तै १५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र ३४ वटालाई निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कारबाहीका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ।
(च) सचेतना सामग्रीको उत्पादन एवम् प्रचारप्रसार
निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गतको मतदाता शिक्षा इकाईले हालसम्म जम्मा १५८ वटा सामग्री आयोगबाट स्वीकृत गराई आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्यूवमा राखिएको छ। मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वसनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ।
(छ) अन्तर्राष्ट्रिय समुदायलाई जानकारी
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले २०८२ माघ १५ गते निर्वाचन आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयबाट काठमाडौंस्थित कूटनीतिक नियोग एवम् संयुक्त राष्ट्र संघीय निकायका प्रमुख तथा प्रतिनिधिलाई ब्रिफिङ सम्पन्न भएको छ। उक्त ब्रिफिङमा निर्वाचन आयोग र गृह मन्त्रालयका प्रतिनिधिसमेतको उपिस्थितमा निर्वाचनको वातावरण, निर्वाचन आयोगबाट भएका तयारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षण लगायतका विषयमा जानकारी गराइएको थियो।
(ज) मतपत्र छपाइ
आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हालसम्म २५ जिल्लाका ३० लाख मतपत्र छपाइ सम्पन्न भएको छ।

