निर्वाचन आयोग र राससबीच समाचारसम्बन्धी सम्झौता

काठमाडौँ–निर्वाचन आयोग र राष्ट्रिय समाचार समिति (रासस) बीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी समाचार उत्पादन एवं प्रचारप्रसारबारे सम्झौता भएको छ ।
आज निर्वाचन आयोगमा आयोजित कार्यक्रममा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी तथा आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुनशमशेर जबरा, आयोगका सचिव कृष्णबहादुर राउत तथा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको उपस्थितिमा राससका महाप्रबन्धक सन्दिप राई र आयोगका सहसचिव राजेन्द्र केसीबीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
निर्वाचन प्रचारप्रसार सामग्री प्रकाशन र प्रसारणसम्बन्धी सो सम्झौता आजै निर्वाचन आयोग र गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण नेपाल (नेपाल टेलिभिजन र रेडियो नेपाल), प्रेस काउन्सिल नेपाल तथा विज्ञापन बोर्डबीच पनि भएको छ ।
त्यस अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग निर्वाचनलाई निष्ठापूर्वक सम्पन्न गर्न लागिपरेको बताउनुभयो । उहाँले छोटो समयमा धेरै काम गर्नुपर्ने भएकाले निर्वाचनलाई सम्पन्न गर्न सबैको सहयोग आवश्यक भएको बताउँदै निर्वाचनको प्रचार प्रसारमा नेपाल सरकारको स्वामित्यमा रहेका सबै सञ्चारमाध्यमहरूले निकै मेहनतका साथ काम गरिरहेको प्रसङ्ग उल्लेख गर्नुभयो ।
यो निर्वाचन आवधिक नभएर आकस्मिक भएकाले समयमै र सफलतापूर्वक हामीले सम्पन्न गर्दा विश्वकै लागि उदाहरण बन्ने पनि उहाँले बताउनुभयो । उहाँले निर्वाचनका अब ३० दिनमत्र बाँकी रहेकाले बाँकी दिनमा पनि मतदाता शिक्षा, निर्वाचन कार्यक्रम, आचारसंहितालगायत विषयमा सबै भाषाभाषीले बुझ्ने गरी समाचार सामग्री तयार पारेर प्रचारप्रसार गरिदिन आग्रह पनि गर्नुभयो ।
थुप्रै बाधा व्यवधान खडा भए पनि तिनलाई पार गरेर अहिलेको अवस्थामा आइपुगेको र मतदानको प्रक्रियाबाहेकका सबै व्यवस्थापकीय कार्य सम्पन्न भइसकेको पनि उहाँले सुनाउनुभयो ।
आयोगका सचिव कृष्णबहादुर राउतले स्थानीय स्तरमा स्वयंसेवक परिचालन गरेर मतदाता शिक्षा दिइने बताउनुभयो । उहाँले आयोगका सामाजिक सञ्जालबाट पनि आधिकारिक सामग्रीको प्रचारप्रसार भइरहेकाले त्यसतर्फ समन्वय गर्न पनि सबैसँग आग्रह गर्नुभयो ।
सो सम्झौतापछि राससका कार्यकारी अध्यक्ष झाले नेपालमा विगत लामो समय देखि नै निर्वाचनहरू सम्पन्न गर्न राससले निर्वाह गर्दै आएको भूमिकाको स्मरण गर्दै आसन्न निर्वाचनका क्रममा पनि मतदाता शिक्षाको विस्तार, आचारसंहिताको पालना र निर्वाचन सचेतनाजस्ता विषयका समाचारलाई राससले प्राथमिकताका साथ सम्प्रेषण गरिरहेको जानकारी दिनुभयो ।

