भूमि आयोगका पर्वतका अध्यक्ष उदय सुवेदीलाई स्पष्टीकरण

१५ कार्तिक २०७९

निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोग, पर्वतका अध्यक्ष उदय सुवेदीलाई राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको छ ।
सुवेदीलाई आफ्नो पदीय दायित्व समेत ख्याल नगरी लगातार निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेला लगायतमा सहभागी भएको भन्ने समेत व्यहोराको उजुरी आयोगमा प्राप्त भएकाले २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।

निर्वाचन आचारसंहिताको दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ व्यवस्था छ ।

‘तपाईं राष्ट्रिय भूमि आयोग, पर्वतको अध्यक्ष रहेको व्यक्ति कुनै राजनीतिक दलको वा दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने देखिन्छ । उल्लेखित सन्दर्भमा तपाईं निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनु भएको होइन भन्ने आधार प्रमाण के छ ?’, आयोगको स्पष्टीकणमा भनिएको छ, ‘तपाईंले राजनीतिक दलको प्रचारप्रसारमा संलग्न भएको कार्यले निर्वाचन आचारसंहिताको उल्लंघन हुने हुँदा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिमको जरिबाना किन गर्नु नपर्ने हो ?’