हेलिकप्टर सेवा प्रयोग गरेबापत लाग्ने खर्च कुन दलबाट बेहोरिने हो सो खुलाउन आयोगको निर्देशन

निर्वाचन आयोगले नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लाई प्रधानमन्त्री र ति दलका उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीहरू समेतले निर्वाचन प्रचार प्रसारको क्रममा हेलिकप्टर सेवा प्रयोग गर्दा लाग्ने खर्च कुन दलबाट बेहोरिने हो सो खुलाई पठाउन निर्देशन दिएको छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन खर्चको सीमा मिति २०७९ आसोज ३१ गतेको नेपाल राजपत्रमा प्रकाशन भईसकेको सन्दर्भमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलको उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीहरू समेतले हेलिकप्टर सेवा प्रयोग गरेको भनी विभिन्न सञ्चारमाध्यमबाट सूचना प्राप्त भएकोले त्यसरी हेलिकप्टर प्रयोग गर्दा लागेको खर्च कुन राजनीतिक दलको खर्चको सीमा भित्र पर्ने हो सो खुलाई पठाउन र त्यसरी हेलिकप्टर सेवा प्रयोग गर्ने पदाधिकारीसँग सम्बन्धित राजनीतिक दलहरूलाई लेखी पठाउने भनी आयोगबाट मिति २०७९ कात्तिक ७ गते निर्णय भएको थियो ।

