पाटन संयुक्त क्याम्पसका सहप्राध्यापक डा. प्रदीप पराजुलीलाई स्पष्टीकरण

६ कार्तिक २०७९

निर्वाचन आयोगले पाटन संयुक्त क्याम्पसका सहप्राध्यापक डा. प्रदीप पराजुलीलाई नेपाली काँग्रेस पार्टी सचिवको रूपमा कार्यरत रहेको भन्ने व्यहोराको उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधेको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) बमोजिम नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति दलको सदस्य हुन सक्दैन ।

त्यस्तै निर्वाचन आचारसंहिता, २०७९ को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने अन्तर्गत खण्ड (क) मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ व्यवस्था रहेको छ । पत्र कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा स्वयं उपस्थित भई स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।
स्पष्टीकरण पत्रमा भनिएको छ–प्रचलित कानून तथा निर्वाचन आचारसंहिताको प्रतिकूल हुने गरी तपाईं राजनीतिक दलको गतिविधिमा संलग्न हुनु भएको होईन भन्ने आधार र कारण के छ ? तथा निर्वाचन आचारसंहिताको प्रतिकूल हुने गरी तपाईं राजनीतिक दलको गतिविधिमा संलग्न हुनु भएको हो भने तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा किन कारबाही हुनु नपर्ने हो ? साथै तपाईंलाई प्रचलित कानून बमोजिमको कारवाहीको लागि सम्बन्धित निकायलाई किन लेखि पठाउनु नपर्ने हो?

यसैगरी आयोगले सहप्राध्यापक डा. पराजुली नेपाली काँग्रेसको पार्टी सचिव रहेको विषयमा पाटन संयुक्त क्याम्पसका प्रमुखलाई स्पष्ट खुलाई दिन भन्दै पत्र पठाएको छ ।
सहप्राध्यापक भई राजनीतिक गतिविधिमा संलग्न व्यक्ति भए सो विषयको जानकारी हुँदाहुँदै निजलाई क्याम्पसले प्रचलित सेवा सम्बन्धी कानून बमोजिम किन कारवाही नगरेको हो ? पत्रमा भनिएको छ । आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र उल्लेखित प्रश्नको जवाफ खुलाई पठाउन भनेको छ ।