निर्वाचन प्रचार प्रसारमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गर्ने सम्बन्धमा

संवत २०८२ साल फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारले र समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (५) बमोजिम निर्वाचन प्रचार प्रसारमा गरेको खर्चको विवरण पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिक निर्वाचन प्रणालीतर्फको हकमा सम्बन्धित राजनीतिक दलले निर्वाचन आयोगसमक्ष तोकिएको ढाँचामा निर्वाचन प्रचार प्रसारमा भएको आम्दानी र खर्चको विवरण राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले पैतिस दिनभित्र पेश गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (२) बमोजिम खर्चको विवरण सम्बन्धित सरोकारवालाको जानकारीको लागि आयोगले तोकेबमोजिम सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था रहेकोले राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचार प्रसारमा भएको खर्चको विवरण निम्न लिखितमध्ये कुनै एक माध्यमबाट सार्वजनिक गर्न र यसरी सार्वजनिक गरेको फोटो वा स्क्रिनसट प्रिन्ट गरी वा भरपर्दो प्रमाण संलग्न गरी निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले आफ्नो जिल्लामा रहेको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन प्रचार प्रसारमा भएको आम्दानी र खर्चको विवरण तथा सो विवरण सार्वजनिक गरेको जानकारी गराउन अनुरोध गरिन्छ।
(क) आफ्नो जिल्लामा रहेको प्रदेश/जिल्ला निर्वाचन कार्यालयको सूचना पाटी,
(ख) सम्बन्धित गाउँपालिका वा नगरपालिका वा वडा कार्यालयको सूचना पाटी,
(ग) राजनीतिक दलको जुनसुकै तहको कार्यालय वा वेबसाइट (राजनीतिक दलको तर्फबाट उम्मेदवार भएका उम्मेदवारको हकमा),
(घ) आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि) वा
(ङ) सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि)।
निर्वाचन खर्चको विवरण नबुझाउने तथा सार्वजनिक नगर्ने एवम् निर्वाचन खर्चको विवरण सार्वजनिक गरी त्यसरी सार्वजनिक गरेको विवरणको प्रमाणसहित लिखित जानकारी आयोग तथा सम्बन्धित निर्वाचन कार्यालयमा नदिने राजनीतिक दल तथा उम्मेदवारको हकमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम कारबाही हुने व्यहोरासमेत सूचित गरिन्छ।

