प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सम्पन्न

संवत् २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य सम्पन्न भएको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १६५ निर्वाचन क्षेत्रमै सम्बन्धित मुख्य निर्वाचन/निर्वाचन अधिकृतको कार्यालयबाटै अन्तिम मत परिणाम सार्वजनिक गरी विजेता उम्मेदवारहरुलाई प्रमाणपत्र दिने कार्य सम्पन्न भइसकेको व्यहोरा विदितै छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न भई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० अनुसार आयोगको मिति २०८२/११/२८ को निर्णय बमोजिम सिट बाँडफाँटसमेत गरिएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा कुल १,८९,०३,६८९ मतदातामध्ये पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १,११,६८,०३२ मतदान भएको र त्यसमध्ये १,०५,५९,०१७ (९४.५५%) मत सदर भएको छ। त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ १,१२,८०,६१७ मतदान भएकोमा १,०८,३५,०२५ (९६.०५%) मत सदर भएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुन बमोजिम तोकिएको थ्रेसहोल्ड (तीन प्रतिशत) पार गर्ने देहायका ६ दलहरुबाट निम्नानुसारको संख्यामा उम्मेदवारहरु निर्वाचित हुनेगरी दलले प्राप्त गर्ने सिट संख्या निर्धारण भएको छः-
क्र.सं. राजनीतिक दलको नाम निर्वाचित हुने संख्या
१. राष्ट्रिय स्वतन्त्र पार्टी ५७
२. नेपाली कांग्रेस २०
३.नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) १६
४. नेपाली कम्युनिस्ट पार्टी ९
५. श्रम संस्कृति पार्टी ४
६. राष्ट्रिय प्रजातन्त्र पार्टी ४
उल्लिखित सिट संख्या अनुसार ऐ. ऐनको दफा ६०(४), प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४१ तथा प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३५ बमोजिम तीन दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेस गर्न सम्बन्धित राजनीतिक दलहरुलाई आजै पत्राचार गरिएको व्यहोरासमेत जानकारीका लागि अनुरोध छ।

