निर्वाचनसम्बन्धी इकाइहरु बन्द गरिएको बारे

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गरी निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्वाचन आयोगले विभिन्न विशेष इकाई तथा समन्वय केन्द्रहरू स्थापना गरेको थियो।
निर्वाचन प्रक्रियासँग सम्बन्धित सूचनाको प्रभावकारी सम्प्रेषण, सरोकारवाला निकायबिच समन्वय तथा मतदाता र सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोगले २०८२ पुस ११ गतेदेखि निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र (EIDC) स्थापना गरेको थियो। त्यस्तै मतदाता र आम सर्वसाधारणका निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि २०८२ माघ ५ गतेदेखि कल सेन्टर र सुरक्षा निकायबिच सहकार्य तथा निर्वाचन प्रक्रियाको समग्र समन्वयका लागि २०८२ माघ ११ गतेदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (JEOC) सञ्चालनमा ल्याइएकोमा मतदान एवम् मतगणनाको कार्य सम्पन्न भइसकेको सन्दर्भमा ती इकाइ तथा समन्वय केन्द्रहरू आयोगको मिति २०८२/११/२६ को निर्णय अनुसार मिति २०८२/११/२७ देखि लागू हुनेगरी बन्द गरिएको व्यहोरा जानकारी गराइन्छ।
सञ्चालन अवधिभर निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र मातहतको सूचना सदाचार प्रवर्धन इकाइले निर्वाचनसम्बन्धी ९९८ हानिकारक सूचना (Toxic Information) पहिचान र विश्लेषण गरी सम्बन्धित नियामक निकायमा पठाएको छ। यस्तै केन्द्र मातहतकै विद्युतीय मतदाता शिक्षा इकाइले निर्वाचन प्रक्रिया, मतदाता शिक्षा तथा निर्वाचन सचेतनासम्बन्धी भिडिओ र पोस्टर गरी ७०४ वटा सामग्री निर्माण गरी आयोगको डिजिटल प्लेटफर्मबाट प्रकाशन तथा प्रसारण गरेको छ। यस्तै प्रेस अफिसले आयोगका काम कारबाहीको सूचना प्रवाह, सञ्चार माध्यमसँगको समन्वय र प्रेस ब्रिफिङ, दैनिक पत्रपत्रिकाका सामग्री विश्लेषण, आचारसंहिता विपरीतका सामग्री पहिचान र कारबाहीका लागि सिफारिस तथा मतदाता शिक्षाका सामग्री निर्माण गरेको छ। साथै कल सेन्टरले मतदाता नामावली, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता तथा निर्वाचन प्रक्रियाका अन्य विषयसमेत गरी आम मतदाताका ८,२२० जिज्ञासाको सम्बोधन गरेको छ।
संयुक्त निर्वाचन सञ्चालन केन्द्रले मतपत्र र निर्वाचन सामग्री ढुवानीमा सुरक्षा समन्वय तथा ट्रयाकिङ गर्ने, हवाइ ढुवानी कार्ययोजनाको तयारी र कार्यान्वयन एवम् समन्वय, मतदान केन्द्रसम्म मतपत्र र निर्वाचन सामग्री ढुवानीको ट्रयाकिङका साथै निर्वाचन सुरक्षासम्बन्धी विभिन्न सूचना संकलन, विश्लेषण, समन्वय र प्रतिवेदनलगायतका काम त्रुटिरहित तवरले सम्पादन गरी निर्वाचन सुरक्षा समन्वय र व्यवस्थापनलाई प्रभावकारी बनाउन सक्रियतापूर्वक कार्यसम्पादन गरेको छ।
निर्वाचन अवधिमा केन्द्र र मातहतमा रही समन्वय, सूचना व्यवस्थापन तथा सेवा प्रवाहमा प्रत्यक्ष एवम् परोक्ष रूपमा संलग्न भएकोमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभाग तथा सम्बन्धित कार्यमा खटिनुभएका विज्ञ तथा सम्पूर्ण कर्मचारीहरूको समर्पण, दक्षता र सक्रियताप्रति निर्वाचन आयोग हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।

