मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह

२० फागुन २०८२

संवैधानिक दायित्व अनुसार आयोग स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचनको दायित्व पूरा गर्न क्रियाशील छ। संवत २०८२ साल फागुन २३ र २४ गतेको आन्दोलनपछि विशेष परिस्थितिमा घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यही फागुन २१ गते बिहान ७ः ०० बजेदेखि साँझ ५ः ०० बजेसम्म देशभर सम्पन्न हुने मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पठाइसकिएको छ। मतदान केन्द्रहरूको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्था, लैङ्गिक/अपाङ्गमैत्री व्यवस्था तथा कर्मचारी परिचालनलगायतका सम्पूर्ण कार्यहरू सम्पन्न भइसकेका छन्। मतदाताले नियमित रूपमा आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको भरपर्दो प्रत्याभूति मिलाइएको छ।

मतदान प्रक्रियाको तयारीका सिलसिलामा केही दुःखद घटनासमेत भएका छन्। रोल्पामा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री लिएर मतदान केन्द्र जाने क्रममा भएको सवारी दुर्घटनामा सुरक्षाकर्मी तथा मतदान अधिकृतको निधन भएको छ। त्यसैगरी कार्यक्षेत्रमै खटिएको अवस्थामा सल्यान एवं सुर्खेत जिल्लामा मतदान अधिकृत र कञ्चनपुरमा निर्वाचन प्रहरीको निधन भएको छ। निधन भएका कर्मचारी तथा सुरक्षाकर्मीप्रति आयोग हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्दछ।

निर्वाचन केवल आफ्ना प्रतिनिधि छानेर सरकार गठन गर्ने प्रक्रिया मात्र होइन लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्याससमेत हो। लोकतन्त्रको सुदृढीकरणका लागि हुने मतदान नागरिकको अधिकार र दायित्व दुवै हो। आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिककानुनी अधिकार मात्र होइन, लोकतन्त्रप्रति नागरिकको जिम्मेवारी हो। निर्वाचन भनेको नागरिकले आफ्ना प्रतिनिधि छानेर सरकार निर्माण गर्ने र शासन सञ्चालनमा सहभागी हुने कानुन निर्माण र राज्य सञ्चालन प्रक्रियामा प्रत्यक्ष संलग्न हुने अवसर हो। यो प्रक्रियाको पूर्णताले मतदानमार्फत नागरिकले नीति, नेतृत्व र शासनको अभिव्यक्ति र समावेशी तथा उत्तरदायी राज्य निर्माणमा प्रत्यक्ष योगदान पुर्‍याउने भएकाले यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातामा निर्वाचन आयोग हार्दिक अपिल गर्दछ।