निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापन सम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । कान्तिपथस्थित आयोगको कार्यालयमा आयोजित कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनको परिचालनमा जनशक्ति परिचालन र सामग्री तथा जिन्सी व्यवस्थापन महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै आफूले गर्नुपर्ने कामबारे स्पष्ट बोध नभएमा त्रुटिहरु हुन सक्ने भएकाले यस सवालमा सम्बन्धित प्रशिक्षक र कर्मचारीहरु संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।
आयुक्त डा तुलाधरले परिचालनलाई मूलमन्त्र ठानेर स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित, पारदर्शी र मितव्ययी निर्वाचन गराउन आयोग चिन्तित र कटिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीले जिन्सी व्यवस्थापन र आर्थिक प्रशासनका विषयमा प्रशिक्षित भई प्रदेश र जिल्लास्तरमा प्रशिक्षणको दायित्व भएकाले प्रशिक्षकहरुले निर्वाचन कानुन, निर्देशिका र विद्यमान प्रक्रियासमेतका विषयमा स्पष्ट बुझेर जानुपर्ने बताउनुभयो ।

