निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन सम्बन्धमा

निर्वाचन आयोग ऐन, २०७३ को दफा २४, निर्वाचन आचारसंहिता, २०७९ को दफा १६, निर्वाचन आयोगको मिति २०८२/१०/०८ को नं. १२०/३६०/२०८२ को निर्णय तथा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग, केन्द्रीय कार्यालय, काठमाडौँको मिति २०८२/१०/१२ को पत्र सङ्ख्या बै.वि.नि.वि./नीति/सूचना/१६/०८२/८३ द्वारा बैकिङ्ग कारोवार गर्न इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको निर्देशनका आधारमा राजनीतिक दल तथा उम्मेदवारहरूद्वारा आमनिर्वाचनको सिलसिलामा गरिने प्रचार प्रसार खर्चलाई बैकिङ्ग प्रणालीमा आबद्ध गराउन निर्वाचन आयोग ऐन, २०७३ को दफा ५० बमोजिम निर्वाचन प्रचार प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ आयोगको मिति २०८२/१०/२० गतेको बैठकबाट स्वीकृत गरी जारी भएको र आयोगको वेबसाइटमा अपलोड गरिएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, ती दलहरूबाट प्रतिनिधित्व गर्ने सबै उम्मेदवारहरू र स्वतन्त्र उम्मेदवारहरूले यस कार्यविधि अनुसार निर्वाचन प्रचार प्रसारका निमित्त आर्थिक सहयोग लिई गरिने आम्दानी खर्च कारोवार यसै खाता मार्फत गर्न र खाता खोल्नका लागि राजनीतिक दलको हकमा निर्वाचन आयोगको सचिवालयबाट र उम्मेदवारहरूको हकमा सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट सिफारिस हुने गरी तोकिएको छ।
यसै अनुसार मातहत निर्वाचन कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूबाट कार्य सम्पादन गर्नु हुन र हाम्रो सन्दर्भमा निर्वाचन प्रचार प्रसार खर्चलाई आधुनिक बैकिङ्ग प्रणालीसँग आवद्ध गर्ने गरी सुसंस्कृत व्यवहारको थालनी भएकोले सबै पक्षबाट सक्रिय सहयोग, समन्वय र सहजीकरणको अपेक्षा आयोगले गरेको छ।

