प्रतिनिधि सभा सदस्य निर्वाचनको स्वच्छता प्रवर्द्धनका लागि निर्वाचन आयोग र टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न

२१ माघ २०८२

संवत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको स्वच्छता प्रवर्द्धनका लागि निर्वाचन आयोग, नेपाल र टिकटकबीच समझदारी पत्र मा हस्ताक्षर सम्पन्न भएको छ।

निर्वाचन आयोगका सहसचिव श्री नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले आज निर्वाचन आयोगमा आयोजित एक कार्यक्रमका बीच समझदारीपत्र आदान-प्रदान गर्नुभयो ।

समझदारीपत्र आदान-प्रदान कार्यक्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त माननीय रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय माननीय डा. जानकी कुमारी तुलाधर र माननीय सगुन शम्शेर ज.ब.रा. तथा आयोगका सचिव श्री कृष्ण बहादुर राउतलगायत आयोगका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

टिकटकले मुख्य तिनवटा निर्वाचन सदाचार लक्ष्यहरू संरक्षण, सशक्तिकरण र साझेदारी अन्तर्गत रहेर निर्वाचन आयोगलाई कुनै शुल्क नलिई सहयोग गर्ने जनाएको छ। यसले भ्रामक सूचना नियन्त्रण गर्न आधिकारिक सूचना तथा सन्देशहरू सम्प्रेषण तथा प्रचारप्रसार गर्ने र विश्वसनीय तथ्यहरू मात्र प्रयोगकर्तालाई उपलब्ध गराउने एवं सुरक्षित स्पेस निर्माणका लागि सहयोग पुर्याउने समेत अपेक्षा राखिएको छ।

समझदारीपत्र अनुसार टिकटकले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको स्वच्छता प्रवर्द्धन तथा आयोगको क्षमता अभिवृद्धिको प्रयासमा सहयोग पुर्याउनेछ। साझेदारीले निर्वाचनसम्बन्धी भरपर्दो र विश्वसनीय सूचना सर्वसाधारणको पहुँचमा पुऱ्याउन सहयोग पुग्ने विश्वास निर्वाचन आयोगले गरेको छ। यो समझदारीपत्रले निर्वाचनको स्वच्छता प्रवर्द्धन गर्दै लोकतान्त्रिक प्रणालीको संस्थागत सबलीकरण गर्न महत्वपूर्ण सहयोग पुर्याउने र निर्वाचनलाई असर पार्न सक्ने भ्रामक सूचना तथा हानिकारक सामग्रीको नियन्त्रणका लागि आयोगबाट भइरहेको प्रयासमा योगदान पुर्याउनेआयोगको विश्वास छ।