उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वंयसेवक तालिम सम्पन्न

प्रतिनिधि सभा सदस्य उपनिर्वाचन, २०८० को सन्र्दभमा मिति २०७९ चैत्र २७ र २८ गते बारा जिल्लाको महागढीमाई नगरपालिकामा निर्वाचन सम्पर्क व्यक्ति र मतदाता शिक्षा स्वयंसेवकहरूलाई तीन समूह गरी एक दिने मतदाता शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको निर्वाचन आयोगका तालीम शाखा प्रमुख उपसचिव श्री सूर्य प्रसाद अर्यालज्यूले शुभारम्भ गर्नुहँुदै वैशाख १० गते हुने उपनिर्वाचनका लागि यस निर्वाचन क्षेत्रका मतदाताको मतदानमा बढी भन्दा बढी सहभागिता गराई बदर मत प्रतिशत न्यूनीकरण गराउन यस प्रशिक्षणको महत्वपूर्ण भूमिका रहनेछ भन्नु भयो । कार्यक्रममा बारा जिल्लाको जिल्ला निर्वाचन अधिकारी श्री सरोज कुमार चौधरीले यस पटकको उपनिर्वाचनमा एउटा मतपत्रमात्र रहने र कुनै एक उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा सहीरूपमा स्वस्तिक चिन्ह लगाइ मत सदर गराउन यस तालीम कार्यक्रमले सहयोग पुर्याउनेछ भन्नुभयो ।
मधेश प्रदेश, बारा जिल्ला क्षेत्र नं २ अन्तर्गतका ६ वटा स्थानीय तहका ६ जना निर्वाचन सम्पर्क व्यक्ति तथा ४४ वडाबाट नियुक्त भएका ८८ जना मतदाता शिक्षा स्वयंसेवक गरी जम्मा ९४ जना सहभागीको सहभागितामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । उपसचिव श्री सूर्य प्रसाद अर्याल, जिल्ला निर्वाचन अधिकारी श्री सरोज कुमार चौधरी, प्रशिक्षक श्री ममता मल्ल श्रेष्ठ तथा राजेन्द्र बहादुर दासले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा उपनिर्वाचन कार्यक्रम २०८०, मतदान र मतदाता शिक्षा सामग्री, मतदाता शिक्षा कार्यक्रम र नमूना मतदान अभ्यास लगायतका विषयहरूमा प्रस्तुति र छलफल भई कार्यक्रम सम्पन्न भएको थियो ।






