केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकका निर्णयहरू

निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिको आजको बैठकले बारा, तनहुँ र चितवन जिल्लामा आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन प्रयोजनका लागि जारी भएको निर्वाचन आचारसंहिता, २०७९ को प्रभावकारी कार्यान्वयन गर्न÷ गराउन नेपाल सरकार गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिने लगायतका निर्णयहरू गरेको छ । साथै आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न÷गराउनको लागि आवश्यक व्यवस्था मिलाउन बारा, तनहुँ र चितवन जिल्लाका जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय भएको छ ।
बैठकले आयोगको सम्वत् २०७९ चैत २२ कोे निर्णयानुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं. २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवारले खर्च गर्न पाउने अधिकतम खर्चको हद तोकी सकिएको हुँदा सो हदभित्र रही खर्च गरे नगरेको समेतका विषयमा सूक्ष्म निगरानी गरी सोको रिपोर्टिङ्ग आवश्यकता अनुसार लिखित एवं मौखिक रुपमा आयोगलाई गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान विभागको जिल्लास्थित कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने पनि निर्णय गरेको छ । समितिले निर्वाचन आचारसंहिता, २०७९ उल्लङ्घन गरेको पाइएमा उजुरी दिन चाहने व्यक्तिले लिखित, मौखिक, सामाजिक सञ्जाल, विद्युतीय माध्यमबाट आधार र कारण खुलाई सोसम्बन्धी प्रमाण समेत संलग्न गरी आयोग, केन्द्रीय आचारसंहिता अनुगमन समिति, सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय, सम्बन्धित जिल्ला निर्वाचन कार्यालय वा जिल्ला आचारसंहिता अनुगमन समिति समक्ष उजुरी दिन सबै सरोकारवालालाई आव्हान गरेको छ ।
यसैगरी बैठकले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्न समाजिक सञ्जालको उपयोगको विषयमा विशेष सतर्कता अपनाउन निर्वाचनलाई प्रभाव पार्ने गरी गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रवाह नगर्न, कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै किसिमका सामग्री उत्पादन, प्रकाशन र प्रसारण नगर्न/नगराउन तथा यस्ता सामग्रीमा शेयर, लाइक वा कमेन्ट गर्ने जस्ता कार्य समेत नगर्न÷नगराउन स्वदेश तथा विदेशमा रहेका सबै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई समेत आव्हान गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा निर्वाचन आचारसंहिता उल्लङ्घन भएका १३० वटा उजुरी परेकोमा ४४ वटा उजुरी उपर कारवाही भई आचारसंहिता उल्लंघनकर्ता मध्ये २० जनालाई जरिवना गरिएको र अन्य सरोकारवाला कर्मचारीबाट आचारसंहिता उल्लङ्घन भएकोमा कारवाही हुने ठहर समेत गरी कतिपयलाई सचेत गराइएको विषय समेत बैठकमा जानकारी गराइएको थियो ।

