आयोग र मतदाताबीच समन्वय र सम्पर्क बढाउन निर्वाचन सम्पर्क व्यक्तिहरूको भूमिका महत्वपूर्ण : आयुक्त डा. तुलाधर

निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधरले मतदाता नामावली संकलन एवं अद्यावधिक गर्ने, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन सम्बन्धी सूचनाहरू सहज रूपमा मतदाता एवं सरोकारवाला पक्षसँग पुर्याउने, मतदानकेन्द्र तथा मतदानस्थलहरूलाई सुरक्षित, सहज, पहुँचयोग्य र लैंगिक एवं समावेशी तथा अपांगता मैत्री बनाउने लगायतका कार्य गर्न स्थानीय तहमा रहेका निर्वाचन सम्पर्क व्यक्तिहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

उहाँले स्थानीय तहमा रहेका निर्वाचन सम्पर्क व्यक्तिहरूले आयोग र जनताको बीचमा समन्वय र सहकार्य गरी सेतुका रूपमा काम गर्नुपर्ने बताउनुभयो । साथै निर्वाचन तथा मतदाता शिक्षा आम नागरिकमा पुर्याउन आयोगको प्रतिनिधिका रूपमा निर्वाचन सम्पर्क व्यक्तिहरूले भूमिका निर्वाह गर्नुपर्ने आयुक्त डा. तुलाधरले जनाउनुभयो । मतदाता नामावली अद्यावधिक कार्यमा स्थानीय सरकारले प्रदेश र जिल्ला निर्वाचन कार्यालयमार्फत मृत्यु भइसकेका मतदाताहरूको विवरण आयोगलाई उपलब्ध गराई मतदाता नामावली अद्यावधिक र शुद्ध बनाउन सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
निर्वाचन सम्पर्क व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्न मधेश प्रदेशको बारा जिल्लामा आयोजित दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुँदै निर्वाचन आयुक्त डा. तुलाधरले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा विश्वसनीय बनाउन निर्वाचन सम्पर्क व्यक्तिको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । स्थानीय तहमा रहने सम्पर्क व्यक्तिले नै निर्वाचनका बारेमा आममतदाता एवं सरोकारवालाहरूलाई जानकारी दिने र स्थानीय स्तरमा निर्वाचन सम्बन्धी कार्य गर्ने भएकाले उहाँहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम आवश्यक रहेको आयुक्त डा. तुलाधरले बताउनुभयो ।

निर्वाचनसँग सम्बन्धित गतिविधि स्थानीय तहसँग समन्वय र अन्तरसम्बन्ध कायम गरी कार्य गर्न गराउन आयोगले प्रदेश तथा स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्ति तोकी कार्य जिम्मेवारी समेत निर्धारण गरिएको उहाँले उल्लेख गर्नुभयो ।
आयुक्त डा. तुलाधरले आयोगले स्थानीय तहसँगको समन्वय र सहकार्य गरी मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्य, निर्वाचन शिक्षा तथा मतदाता जागरण कार्य गरी सुसूचित मतदाता तयार गर्ने कार्य गर्दै उल्लेख गर्दै निर्वाचनमा धेरैभन्दा धेरै मतदाताको सहभागिता गराउँदै बदर मत प्रतिशतलाई न्यूनीकरण गर्ने लक्ष्य लिइएको बताउनुभयो । उक्त लक्ष्य प्राप्त गर्न आयोगले निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्यलाई उच्च प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
स्थानीय तहका मतदातालाई आयोगका कार्यक्रम, गतिविधि, सूचना र सन्देश तथा निर्वाचनका विभिन्न चरण तथा प्रक्रियाका बारेमा निर्वाचन सम्पर्क व्यक्तिसँग यथेष्ट जानकारी हुन जरुरी रहेको बताउनुहँदै आयुक्त डा. तुलाधरले निर्वाचन सम्पर्क व्यक्तिहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्याशाला निरन्तर रूपमा हुनुपर्ने बताउनुभयो ।

कार्यशालाबाट हासिल भएको ज्ञान र सीपलाई हस्तान्तरण गरेर आयोगको उद्देश्यलाई सफल बनाउन निर्वाचन सम्पर्क व्यक्तिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास उहाँले सो अवसरमा व्यक्त गर्नुभयो ।
आयोगले सम्पादन गर्ने कार्यलाई प्रभावकारी बनाउन आवश्यक पर्ने कर्मचारी तथा अन्य सहयोग उपलब्ध गराउनु नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको कर्तव्य हुने विषय नेपालको संविधान र निर्वाचन सम्बन्धी कानूनले स्पष्ट गरेको आयुक्त डा. तुलाधरले उल्लेख गर्नुभयो ।

कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन सम्पर्क व्यक्तिहरूको क्षमताअभिवृद्धि विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासहित बारा, पर्सा र रौतहट जिल्लाका ४८ स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो ।


