निर्वाचन सम्पर्क व्यक्तिहरूका लागि क्षमता अभिवृद्धि सम्बन्धी प्रशिक्षण कार्यक्रम

निर्वाचन सम्पर्क व्यक्तिहरूका लागि क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले काभे्रपलाञ्चोक जिल्लाको धुलीखेलमा आज मिति २०७९ फागुन १० गते शुभारम्भ गर्नुभयो ।

उक्त प्रशिक्षण कार्यक्रममा ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहमा कार्यरत ३६ जना निर्वाचन सम्पर्क व्यक्तिहरूको सहभागिता रहेको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगबाट गरिने मतदाता नामावली संकलन तथा अद्यावधिक, मतदान स्थल र मतदान केन्द्रको व्यवस्थापन तथा निर्वाचन शिक्षा जस्ता महत्वपूर्ण निर्वाचन व्यवस्थापनसँग सम्बन्धित क्रियाकलापहरूमा स्थानीय तहको समन्वय र सहकार्य आवश्यक रहेको जानकारी गराउँदै स्थानीय तहमा तोकिएका निर्वाचन सम्पर्क व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
प्रशिक्षण कार्यक्रमबाट निर्वाचन सम्पर्क व्यक्तिहरू निर्वाचन व्यवस्थापन सम्बन्धी निर्वाचनका विविध विषयमा प्रशिक्षित हुँदै प्रशिक्षणका सिकाईहरू स्थानीय तहका वडा तहसम्म सम्प्रेषण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त प्रशिक्षण कार्यक्रममा आयोगका श्रीमान् सचिव गोकर्णमणि दुवाडी, सहसचिव श्री तुलसी बहादुर श्रेष्ठ, उपसचिव श्री सूर्यप्रसाद अर्याल, काभ्रेपलाञ्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्री महेश कुमार पोख्रेल, धुलीखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सुरेन्द्र थापा मगर, युएनडीपी इएसपीका प्रतिनिधि श्री निकीला श्रेष्ठ, काभ्रेपलाञ्चोक जिल्ला निर्वाचन अधिकारी श्री उमेश राई तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।




