निर्वाचनमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीले जिम्मेवारीबोधका साथ काम गर्नुपर्छ : आयुक्त डा. तुलाधर
नुवाकोट । निर्वाचन आयुक्त डा. जानकी कुमार तुलाधरले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीका सन्दर्भमा आज नुवाकोट जिल्लामा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू तथा जिल्ला निर्वाचन अधिकारीसँग निर्वाचनको तयारीका बारेमा जानकारी लिनुभएको छ ।

निर्वाचन तयारीका बारेमा जानकारी लिन नुवाकोट पुग्नु भएका आयुक्त डा. तुलाधारलाई मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, तथा जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले निर्वाचनका सन्दर्भमा नुवाकोट जिल्लामा भएका तयारीका बारेमा जानकारी गराउनु भएको थियो ।
सो अवसरमा आयुक्त डा. तुलाधरले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं शान्तिपूर्णरूपमा सम्पन्न गर्न सबैले एक ढिक्का भएर कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले मतदातालाई निर्धक्क भएर मतदान केन्द्रमा पुगेर मतदान गर्ने अवस्था सिर्जनाका लागि सुरक्षा निकायले आवश्यक सुरक्षा व्यवस्था मिलाउनु पर्ने बताउनुभयो ।

निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरिसकेकाले अब मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले आयोगको जिम्मेवारी आफ्नो काँधमा लिएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा आयुक्त डा. तुलाधारले विदुर नगरपालिकाको वडा नं.२ स्थित भैरवी माध्यामिक विद्यालयमा रहेको मतदान स्थल र वडा नं.४ मा रहेको आर्दश बहुमुखी क्याम्पस मतदान केन्द्र निर्माणको स्थलगत निरीक्षण पनि गर्नुभयो । निरीक्षणका क्रममा उहाँले मतदान केन्द्रलाई लैंगिक, अपांगमैत्री, ज्येष्ठ नागरिक, अशक्त, गर्भवती एवं सुत्केरी महिलालाई सहज हुने गरी निर्माण गर्न निर्देशन दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिता पालनामा संवेदनशीलता देखाएका कारण निर्वाचन प्रचारप्रसार शन्तिपूर्ण रहेको र मतदान पनि शान्तिपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले निर्वाचनका लागि कर्मचारी र सुरक्षा व्यवस्थापन चुस्तदुरुस्त ढंगबाट गरिएकाले मतदाताले निर्धक्क भएर मतदान गर्न सक्ने अवस्था रहेको बताउनुभयो ।
जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले निर्वाचन व्यवस्थापन र सञ्चालनको सम्पूर्ण तयारी सकिएको र निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालयबाट गर्नुपर्ने कार्य सम्पादन भइरहेको बताउनुभयो ।




