उम्मेदवार पोल्देन तोपाङ गुरुङलाई स्पष्टीकरण

१ मंसिर २०७९

निर्वाचन आयोगले नेकपा एमालेको तर्फबाट मनाङ जिल्लाका प्रतिनिधि सभा सदस्य उम्मेदवार पोल्देन तोपाङ गुरुङलाई स्पष्टीकरण सोधेको छ ।

“निर्वाचन आचारसंहिता, २०७९  को दफा १४ को उपदफा (१) को खण्ड (छ) विपरित निर्वाचन आयोगको अनुमति विना श्री एयरलायन्सको हेलिकोप्टर प्रयोग गरी मनाङ जिल्ला मनाङ ङिस्याङ गाउँपालिका वडा नं. ३ ङावलमा अवतरण गरी काङ्लापासको बाटो भई मनाङ जिल्ला नार्पा भूमि गाउँपालिका अन्तर्गतको नार गाउँमा पुगी निर्वाचन आचारसंहिता विपरित मतदाताहरुलाई प्रभावित पार्ने उद्देश्यले याक काटेर भोज भतेर गरेको” भन्ने समेत व्यहोराको उजुरी आयोगमा प्राप्त भएको सन्दर्भमा आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता, २०७९  को दफा १४ मा सवारी साधन प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणहरु उल्लेख गरिएको छ । ऐ. आचारसंहिताको दफा १४ को उपदफा (१) को खण्ड (क) मा “निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोके बमोजिम बढीमा दुईपाङ्ग्रे वा तीनपाङ्‍ग्रे वा चारपाङ्‍ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने तर विदेशी नम्बर प्लेटको सवारी साधनलाई त्यस्तो अनुमति दिइने छैन” र ऐ. दफाको ऐ. उपदफाको खण्ड (ख) मा “कुनै पदको निर्वाचन प्रचारप्रसारको लागि राजनीतिक दलले खण्ड (क) बमोजिमको प्रक्रिया पूरा गरी सोही बमोजिमको सङ्ख्या र प्रकारका सवारी साधन मात्र प्रयोग गर्नुपर्ने” व्यवस्था छ । ऐ. आचारसंहिताको दफा १४ को उपदफा (१) को खण्ड (छ) मा “राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने…….” भन्ने व्यवस्था छ

पत्र प्राप्त भएको २४  घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय मनाङमा स्वयम उपस्थित भई सत्यतथ्य व्यहोरा खुलाई लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ ।

(क) तपाईंले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचन प्रचारप्रसारको लागि हेलिकोप्टर प्रयोग गरेको विषय सत्य हो, होईन ?

(ख) यदी तपाईंले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचन प्रचारप्रसारको लागि हेलिकोप्टर प्रयोग गरेको विषय सत्य हो भने तपाईंले उक्त हेलिकप्टर उडान गर्नको लागि निर्वाचन आयोगको पूर्वसहमति लिनुभएको छ, छैन ?

(ग)      तपाईंले निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ को उपदफा (१) को खण्ड (छ) को प्रतिकूल हुनेगरी हेलिकोप्टर प्रयोग गर्ने कार्य गरेको ठहर भएमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना र उपदफा (४) बमोजिम उम्मेदवारी रद्दको कारवाही हुनसक्ने भएकोले उक्त कारवाही किन गर्नु नपर्ने हो ? स्पष्टीकरणमा सोधिएको छ ।