मतदानमा सहभागी हुनु हुने सम्पूर्ण मतदाता एवं निर्वाचनका सरोकारवाला सम्पूर्णलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीद्वरा धन्यवाद व्यक्त

२१ फागुन २०८२

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ आज केही सामान्य घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचन अधिकृत, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समुदाय, सञ्चारमाध्यम, निजी क्षेत्रलगायत सबै क्षेत्र र समुदायप्रति निर्वाचन आयोग हार्दिक आभार व्यक्त गर्दछ ।

राजनीतिक विद्रोहपछि यति छोटो अवधिमा शान्तिपूर्ण ढंगबाट सफलतापूर्वक निर्वाचन सम्पन्न भएका उदाहरण विश्वका अन्य मूलुकमा पनि कमै भेटिन्छ । नेपालको यस निर्वाचनलाई विश्वसमूदायले पनि नजिकबाट हेरिरहेको थियो । निर्धारित मितिमा सफलतापूर्वक निर्वाचन सम्पन्न हुन सक्नुमा सरोकारवाला सबैको सहयोग र निर्वाचनप्रतिको अटुट विश्वासले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

निर्वाचन व्यवस्थापनका क्रममा निर्वाचन आयोगले खेलेको नेतृत्वदायी भूमिकामा निर्वाचनका सरोकारवाला पक्षले सानो मात्रै असहयोग गरेको भएपनि निर्वाचन विथोलिन सक्ने अवस्था थियो । तर नवयुवा पुस्ताको विद्रोह पछि संविधान र देशलाई सही दिशा दिनका लागि निर्वाचन बाहेक अर्को विकल्प थिएन । यो तथ्यलाई मनन गरेर सरोकारवाला सबै पक्ष निर्वाचनमा एकत्रित हुनु भएका कारण यो पवित्र कार्य सफलतापूर्वक सम्पन्न हुन सकेको हो ।

निर्वाचन सम्पन्न गराउन आयोगले लिएको पहलकदमीलाई सकारात्मक ढंगबाट सहयोग पुर्याउने, सुरक्षाको उचित प्रबन्ध मिलाउने नेपाल सरकारप्रति आयोग धन्यवाद व्यक्त गर्दछ ।

लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान हो । यो अनुष्ठानमा सहभागी भएर आ–आफ्नो मताधिकार सुरक्षित गर्नुहुने सम्पूर्ण मतदाताहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ । हालसम्मको प्रारम्भिक विवरण अनुसार करिब ६० प्रतिशत मतदान भएको देखिएको छ ।

केही मतदान केन्द्रमा विविध कारणवश केही समय मतदान कार्य रोकिएकोमा राजनीतिक दल तथा उम्मेदवार र निर्वाचन प्रतिनिधिहरूसँगको छलफलपछि पुनः सुचारू भएको थियो । सो क्रममा राजनीतिक दल तथा उम्मेदवारका निर्वाचन प्रतिनिधिको संयमता र सौहार्दताका लागि आयोग धन्यवाद व्यक्त गर्दछ ।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा संकलन भइरहेको छ । मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा आज रातिदेखि नै मतगणना शुरू गर्ने र अन्य स्थानमा मतपेटिका सुरक्षित साथ संकलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको छ ।

गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा भएको यो आकस्मिक प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा सहभागी हुनु हुने सम्पूर्ण मतदाता एवं सरोकारवाला सबैलाई पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछु ।