प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मतदान कार्य सम्पन्न

२१ फागुन २०८२

संवत् २०८२ साल फागुन २१ गते विहीवार प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य विहान ७:०० बजेदेखि साँझ ५:०० वजेसम्म शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ। विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा उत्साहजनक रूपमा सम्पन्न गराउने कार्य आफैमा चुनौतीपूर्ण थियो। यस कार्यमा सहयोग, सहकार्य र समन्वयका लागि निर्वाचन आयोग नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, आम मतदाता, पर्यवेक्षक संस्थाहरू, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछ।

देशभरबाट प्राप्त विवरण अनुसार करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ। यसको विस्तृत विवरण सङ्कलन कार्य जारी रहेको छ। मतदानका लागि तोकिएको समयभित्र मतदान केन्द्रमा प्रवेश गरेका केही केन्द्रहरूमा मतदानको कार्य जारी रहेको जानकारी सम्बन्धित निर्वाचन क्षेत्रवाट प्राप्त भएको छ। छिटफुट अवरोधका घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन पर्यवेक्षणमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रारम्भिक विवरणबाट समेत प्राप्त भएको छ।

मतदान कार्यको समाप्तिसँगै मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि मतगणना कार्य तत्काल सुरु हुनेछ। दुर्गम १५ जिल्लाका विकट क्षेत्रवाट हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिने छ। जसमध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र रुकुम (पूर्वी भाग) का सम्पूर्ण मतपेटिका आजै सम्वन्धित मतगणना स्थलमा पुन्याउने लक्ष्य छ भने संखुवासभा, सोलुखुम्बु, गोरखा र रुकुम (पश्चिम भाग), मनाङ तथा बाजुरा र हुम्लाका मतपेटिका शुक्रवार विहानसम्म सम्बन्धित मतगणना स्थलमा पु-याइनेछ।

प्रतिनिधिमूलक लोकतन्त्रको यस उत्सवमा सहभागी भई आफ्नो मताधिकारमार्फत प्रतिनिधि चुन्ने, कानुन निर्माण र राज्य सञ्चालन प्रक्रियामा संलग्न हुने एवम् सरकार निर्माण तथा शासन सञ्चालनमा सहभागी हुने प्रक्रियालाई पूर्णता दिएकोमा सम्पूर्ण मतदातामा आयोग हार्दिक धन्यवाद व्यक्त गर्दछ।