निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्ने सम्बन्धमा

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक दल वा उम्मेदवारले आफ्नो झण्डा वा निर्वाचन चिह्न बोक्ने कार्यमा, सांस्कृतिक कार्यक्रममा, र्यालीमा, अमुक दल वा उम्मेदवारविरुद्धका गतिविधिमा, झण्डा वा निर्वाचन चिह्न अङ्कित भेष्ट/टिसर्ट/लोगो जस्ता चिजहरू प्रदर्शन गर्ने कार्यमा बालबालिका सहभागी गराउने गरेको र विद्यालय समयमा विद्यालय नजिकै राजनीतिक दल वा उम्मेदवारका चुनावी गतिविधि सम्बन्धी कार्यक्रम आयोजना गरी शैक्षिक कार्यमा अवरोध सिर्जना भएका विषयहरूमा उजुरी तथा गुनासो निर्वाचन आयोगमा प्राप्त भएका छन्।
नेपालको संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन-पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने समेतका व्यवस्था गरेको छ। बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३ को उपदफा (२) “नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले बालबालिकाको बाँच्न पाउने अधिकार र बालबालिकाको विकासको लागि बालबालिकामाथि हुन सक्ने दुर्घटनाको रोकथाम, जोखिमको न्यूनीकरण लगायतका प्रतिरोधात्मक र सुरक्षा सेवाका लागि आवश्यक उपाय अवलम्बन गर्नेछन्” भन्ने व्यवस्था रहेको छ। ऐ. ऐनको दफा १५ को उपदफा (२) मा “प्रत्येक बालबालिकालाई प्रचलित कानुन बमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क तथा माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क रूपमा बालमैत्री वातावरणमा पाउने अधिकार हुनेछ” भन्ने व्यवस्था रहेको छ। ऐ. ऐनको दफा १६ को उपदफा (१) मा “बालबालिकासँग सम्बन्धित कार्य गर्ने प्रत्येक निकाय तथा संस्थाका अधिकारीले हरेक काम कारबाही गर्दा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिई आवश्यक बालमैत्री प्रक्रिया अपनाउनु पर्नेछ” भन्ने व्यवस्था रहेको छ। त्यसै गरी निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ट) मा “निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने” व्यवस्था रहेको छ। निर्वाचन आचारसंहिताको उल्लङ्घनमा आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था समेत रहेको छ।
प्रस्तुत सन्दर्भमा निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन र निर्वाचन आचारसंहिता समेतको प्रतिकूल हुने हुँदा कुनै पनि राजनीतिक गतिविधि र निर्वाचन प्रचारप्रसारका कार्य गर्दा बालबालिकाको कुनै पनि किसिमबाट प्रयोग नगर्न नगराउन तथा बालबालिकाको अध्ययन अध्यापनमा असर पार्ने कार्य नगर्न नगराउन समेत सबै राजनीतिक दल, उम्मेदवार र मतदाताहरूलाई आयोग आग्रह गर्दछ। कानुनद्वारा प्रत्याभूत बालबालिकाको अधिकारको संरक्षण तथा संवर्द्धन गर्दै अधिकारको प्रचलन र परिपालना गर्न/गराउन निर्वाचन आयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरुको ध्यानाकर्षण गराउँछ। निर्वाचन आचारसंहिता विपरीतका कार्य गरे गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत जानकारी गराइन्छ।
शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारी निर्वाचन प्रचारप्रसारमा सहभागी हुन नहुने सम्बन्धमा

