कल सेन्टरमा प्राप्त जिज्ञासा र तिनको समाधान

१.आर्थिक लाभको पदमा बहाल रहेको व्यक्ति प्रस्तावक र समर्थक हुन पाउँछ कि पाउँदैन ?
उत्तर- प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ ले “लाभको पद”लाई परिभाषित गरेको छ। उक्त परिभाषा अनुसार “लाभको पद” भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक कुनै सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पद सम्झनुपर्छ।उल्लिखित परिभाषाभित्र पर्ने लाभको पद धारण गरेको व्यक्तिलाई राजनीतिमा भाग लिन र उम्मेदवारको पक्ष-विपक्षमा लाग्न निर्वाचन आचारसंहिता, २०८२ ले निषेध गरेको छ।अतः लाभको पदमा बसेको व्यक्ति उम्मेदवारको प्रस्तावक वा समर्थक हुन पाउँदैन।
२. मतदाता परिचयपत्रमा बुवाको नाम फरक परेको थियो। सच्याउनको लागि निवेदन दिइसकेको थिएँ तर हालसम्म नसच्चिएको हुँदा के गर्ने होला ?
उत्तर- रितपूर्वक निवेदन दिनुभएको भए तपाईँको मतदाता नामावलीको विवरण सच्चिनुपर्ने हो। त्यसैले सर्वप्रथम यस विषयमा पुनः आफ्नो नामावली जाँच गरी स्पष्ट हुनुहोला। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रयोजनार्थ मतदाता नामावलीमा नाम सच्याउने कार्य हाललाई स्थगित गरिएको छ। आसन्न निर्वाचन सम्पन्न भएपश्चात् आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्ने कार्य पुनः सुचारु गर्न सूचना जारी गर्दछ।कुनै प्राविधिक कारणले मतदाता नामावलीको विवरण नसच्चिएको रहेछ भने आयोगको सूचना हेर्दै गर्नुहोला। निर्वाचन आयोगको वेब पेजमार्फत् फरक परेको विवरण सच्याउन प्रमाण राखी आवेदन गर्न सकिन्छ।
३. मतदाता नामावलीमा मृतक व्यक्तिको नाम समेत समावेश भएकोले यसको दुरुपयोग हुनसक्ने हुँदा यस सम्बन्धमा आयोगले के गर्छ ?
उत्तर- मतदाता नामावली छापिनुअघि मतदाताको मृत्यु भएको सूचना प्राप्त भएका सबै मृतकहरुको नाम मतदाता नामावलीबाट हटाइसकिएको छ। सूचना प्राप्त नभएका वा तोकिएको मितिभन्दा पछि मृत्यु भएका मृतकको नाम मतदाता नामावलीमा रहन्छ। यस्तो अवस्थामा निजहरुको नामको दुरुपयोग नहोस् भन्ने कुरामा आयोग सचेत छ।
मतदाताको सजिलै पहिचान गर्न सकियोस् भन्ने हेतुले हरेक मतदान केन्द्रमा सम्बन्धित मतदान केन्द्रमा मतदान गर्ने मतदाताहरुको फोटोसहितको रङ्गिन मतदाता नामावली पठाइएको हुन्छ। त्यहाँ खटिएका कर्मचारीले उक्त मतदाता नामावलीसँग मतदान गर्न आउने व्यक्तिको फोटोसहितको सक्कल प्रमाणपत्र र सम्बन्धित व्यक्तिको अनुहारलाई भिडाएर हेरी यकिन गरेर मात्र मतदानको लागि मतपत्र उपलब्ध गराउँछन्। मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीहरुले हुन सक्ने अवाञ्छित गतिविधिको निगरानी गरी तत्काल नियन्त्रण गर्दछन् भने मतदान प्रतिनिधिहरुले समेत मान्छे पहिचान गरेर विरोध गर्ने गर्दछन्। त्यसैले आशंका गरेजस्तो दुरुपयोग हुने सम्भावना रहँदैन।
४. अर्को निर्वाचन क्षेत्रबाट मतदान गर्न पाइन्छ कि पाइँदैन ?
उत्तर- मतदाता नामावलीमा आफ्नो नाम रहेको स्थानीय तहको सम्बन्धित वडाको तोकिएको मतदान केन्द्रबाट मात्र मतदान गर्न पाइन्छ। अतः अर्को निर्वाचन क्षेत्रबाट मतदान गर्न मिल्दैन।
५. फौजदारी अभियोग लागेर कैद भुक्तान गरेका व्यक्तिले समेत उम्मेदवारी दिएको पाइयो। यसमा आयोगले के गर्छ ?
उत्तर- मौजुदा निर्वाचन कानुनले उम्मेदवारको अयोग्यताको सम्बन्धमा दाबी विरोध र उजुरी गर्न सकिने व्यवस्था गरेको छ।अतः यस विषयमा तथ्य प्रमाणसहित सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुपर्ने हुन्छ। तत्पश्चात् निर्वाचन अधिकृतको कार्यालयले छानबिन गर्छ र कानुन अनुसार अयोग्य रहेको देखिएमा निजको उम्मेदवारी खारेज हुन्छ।
६. गाउँपालिकाको कार्यपालिका सदस्यको नाम कुनै दलको समानुपातिकतर्फ बन्द सूचीमा समावेश भएको छ। यस्तो गर्न त नमिल्ने होइन र ?
उत्तर- स्थानीय कार्यपालिकाको सदस्यले आफ्नो पदबाट राजीनामा नदिई प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिनुभएमा उहाँ स्वतः पदमुक्त भएको मानिने कानुनी व्यवस्था छ। यस विषयमा थप स्पष्ट हुन यहाँले निर्वाचन आचारसंहिता,२०८२ को परिच्छेद-१० अध्ययन गर्न सक्नुहुन्छ।
७. मतदाता नामावलीको जिल्ला, निर्वाचन क्षेत्र तथा वडाको एकमुष्ट विवरण प्राप्त गर्न के गर्नुपर्ला र कहाँ सम्पर्क गर्नुपर्ला ?
उत्तर- एकमुष्ट विवरण चाहिएमा प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्नुहोला। नियमानुसार राजस्व तिरेर कानुनले बन्देज गरेबाहेकका विवरण प्राप्त गर्न सकिन्छ।
८. मतदाता नामावलीमा आफ्नो नाम दुई ठाउँमा देखिएको छ। कुनलाई आधिकारिक मान्ने होला ?
उत्तर- दुई ठाउँबाट नाम दर्ता गर्नाले वा अन्य कुनै प्राविधिक कारणले गर्दा दुई ठाउँमा देखिएको हुन सक्छ। यस्तो देखिए तापनि स्थायी ठेगाना जहाँ हो त्यहीँबाट मात्र मतदान गर्न पाउनुहुन्छ। मतदान गर्न जाँदा आफू त्यहाँको स्थायी बासिन्दा भएको प्रमाणित गर्ने कागजात, जस्तै नागरिकता, जग्गा धनी प्रमाणपूर्जा, बसाइँसराइ प्रमाणपत्र साथमा लगेर जानुहोला। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएपश्चात् आफ्नो नामावली एउटा मात्र स्थानमा कायम गर्नको लागि प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा वा निर्वाचन आयोगको वेब पेजमार्फत् आवेदन पेस गर्नुहोला।
९. कर्मचारी सरुवा भई हालसम्म रमानापत्र नभएको अवस्थामा हाल रमानापत्र लिन-दिन मिल्छ कि मिल्दैन ?
उत्तर- सरुवा गर्न मिल्दैन तर सरुवा भइसकेको कर्मचारीलाई रमाना दिन मिल्छ।
१०. करारको कर्मचारीलाई निर्वाचनको कार्यक्रममा खटाउन मिल्छ कि मिल्दैन ?
उत्तर- यस विषयको निर्णय प्रमुख निर्वाचन अधिकृत/निर्वाचन अधिकृत र जिल्ला जनशक्ति व्यवस्थापन समन्वय समितिले सम्बन्धित जिल्लाको जनशक्तिको उपलब्धता एवम् आवश्यकताको आधारमा गर्दछ। यद्यपि कर्मचारी खटाउँदा स्थायी कर्मचारीलाई प्राथमिकता दिइन्छ।
११. मतदाता परिचयपत्र कहिलेसम्म पाइन्छ ?
उत्तर- सामान्यतयाः सम्बन्धित मतदान केन्द्रबाट निर्वाचन हुनुभन्दा तीन दिन अघिदेखि वितरण गरिन्छ।
१२. निर्वाचनमा खटिएका कर्मचारीले मतदान गर्न पाइन्छ कि पाइँदैन ?
उत्तर- निर्वाचन आयोगद्वारा स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भई निर्वाचनमा खटिएका र अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका राष्ट्र सेवकहरुले खटिएको/ तोकिएको मतदान केन्द्रबाट समानुपातिकतर्फ मतदान गर्न पाउँछन्।
१३. झापामा मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले काठमाडौँमा भोट हाल्न पाइन्छ कि पाइँदैन ?
उत्तर- मतदाता नामावलीमा नाम समावेश भएको आफ्नो स्थायी ठेगानाको सम्बन्धित स्थानीय तहको वडाको मतदान केन्द्रमा मात्र मतदान गर्न पाइन्छ। मतदानका लागि झापा नै जानुपर्ने हुन्छ काठमाडौँबाट मतदान गर्न मिल्दैन।
१४. नयाँ राजनीतिक दल दर्ता गर्न के-के कागजातहरु चाहिन्छ ?
उत्तर- राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५ मा दल दर्ता हुनको लागि दलको प्रमुख पदाधिकारीले केन्द्रीय समितिको निर्णयसहित देहायको विवरण तथा कागजात संलग्न गरी तोकिए बमोजिमको ढाँचामा आयोगसमक्ष निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ:-
(क) दलको विधान,
(ख) घोषणापत्र,
(ग) झण्डा, चिन्हको नमूना,
(घ) कम्तीमा पाँचसय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धता पत्र र निजहरुको नागरिकता वा मतदाता परिचय पत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर,
(ङ) खण्ड (घ) बमोजिम प्रतिबद्धता जनाउने व्यक्तिले अर्को दलको सदस्य नभएको भनी गरेको उद्घोषण पत्र,
(च) कम्तीमा एक्काइस सदस्य केन्द्रीय समितिको व्यवस्था, र
(छ) आयोगले आवश्यक ठानेका अन्य विवरण तथा कागजात ।
नयाँ राजनीतिक दल दर्ता गर्न निवेदनसहित उल्लिखित कागजात पे; गरेर मात्र पुग्दैन, उक्त दलले नेपालको संविधानको धारा २६९ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले तोकेका ;र्तहरु समेत पूरा गरेको हुनु पर्दछ।
१५. गैरसरकारी संस्थाले आचारसंहिता लागू भइसकेपछि कर्मचारी भर्ना गर्न मिल्छ कि मिल्दैन ?
उत्तर- गैरसरकारी संस्थाका पदाधिकारी र कर्मचारीलाई पनि आचारसंहिता लागू हुने हुँदा सरकारी बजेट खर्च गर्ने संस्था/परियोजना-कार्यक्रममा कर्मचारी पदपूर्तिको कार्य निर्वाचन सम्पन्न भइसकेपछि गर्नु उपयुक्त हुन्छ।सरकारको लगानी वा बजेट परिचालन नगर्ने कार्यमा गैरसरकारी संस्थाले कर्मचारी भर्ना गर्न आचारसंहिताले रोक्ने देखिँदैन।
१६.दृष्टिविहीन व्यक्तिले एकाघरका सदस्य उपर विश्वास नभएमा मतदान अधिकृतबाट मतदानको लागि सहयोग लिन पाइन्छ कि पाइँदैन ?
उत्तर- प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ को दफा ५२(४) मा “कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफैँ मतसंकेत गर्न नसक्ने भई मतसंकेत गर्ने काममा सहयोग पुर्याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मतसंकेत गर्ने काममा सहयोग गर्नुपर्ने छ” भन्ने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार मतदान अधिकृतले यस्तो अवस्था भएका मतदातालाई मतदान गर्न सहयोग गर्नुहुन्छ।
१७. उम्मेदवारले खर्च व्यवस्थापन गर्न छुट्टै खाता खोल्नुपर्छ कि अन्य व्यक्तिगत खाता भए पनि हुने हो ?
उत्तर- निर्वाचन आचारसंहिता, २०८२ को दफा १६ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थालाई कार्यान्वयन गर्न निर्वाचन आयोगको निर्णयानुसार मितिः २०८२/१०/०९ गते आम निर्वाचनका लागि छुट्टै बैङ्क खाताको व्यवस्था गरिदिन नेपाल राष्ट्र बैङ्कलाई पत्राचार गरिएको र नेपाल राष्ट्र बैङ्कबाट मिति २०८२/१०/१२ गते पत्राचार कार्यान्वयनका बैङ्क तथा वित्तीय संस्थाहरुलाई निर्देशन भइसकेको छ।
१८. प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा उम्मेदवारी दिएका उम्मेदवारहरुको नामावली कसरी हेर्ने होला ?
उत्तर- निर्वाचन आयोगको आधिकारिक वेबसाइट election.gov.np र result.election.gov.np मा गएर प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारी दिएका उम्मेदवारहरुको नामावली हेर्न सक्नुहुनेछ।
१९. निर्वाचनको प्रचारप्रसार गर्न कहिलेदेखि पाइन्छ?
उत्तर- प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को लागि मितिः २०८२/११/०४ देखि २०८२/११/१८ गतेसम्म प्रचारप्रसार गर्न पाइन्छ।
२०. मतदाता नामावली र वास्तविक व्यक्तिको विवरणमा केही त्रुटि देखिएमा मतदान गर्न पाइन्छ कि पाइँदैन ?
उत्तर- यस सम्बन्धमा मतदान निर्देशिका, २०८२ को दफा ४३ मा मतदाताको नाम जाँच गरी रुजु गर्दा “कुनै मतदाताको व्यहोरामा लेखाई वा छपाईको सानोतिनो भूलचुक देखिए तापनि मतदाता नामावलीमा लेखिएको व्यक्ति निज नै हो भन्ने कुरामा विश्वस्त भएमा मतदान अधिकृतले मतदानका लागि त्यस्तो मतदातालाई मतपत्र दिनेछ” भन्ने व्यवस्था गरिएको छ। यस दफाको प्रयोजनको लागि “सानोतिनो भूलचुक” भन्नाले मतदाता नामावलीमा सम्बन्धित व्यक्तिको नाम, थर, उमेर, वतनमा लेखाइ वा छपाइसम्बन्धी प्राविधिक वा अक्षर, मात्रा वा अङ्कको सामान्य त्रुटि सम्झनुपर्छ भन्ने व्यवस्था रहेको छ। यसर्थ सानोतिनो त्रुटि भएमा मतदान गर्न पाइन्छ।
२१. नगरपालिकाका पदाधिकारी र कर्मचारीले कुनै उम्मेदवारको पक्षमा मत माग्दै हिँडेको देखिन्छ। यसरी मत माग्न पाइन्छ कि पाइँदैन ?
उत्तर- सरकारी कर्मचारीले कुनै दल वा उम्मेदवारको लागि मत माग्न, कसैको समर्थन वा विरोध गर्न र कसैको पक्ष वा विपक्षमा लाग्न मिल्दैन।स्थानीय कार्यपालिकाका पदाधिकारीको सम्बन्धमा भने निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को उपदफा (४) मा “स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछ” भन्ने व्यवस्था रहेको छ। प्रचारप्रसारमा स्रोत साधन दुरुपयोग गर्न भने पाइन्न।
शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारी निर्वाचन प्रचारप्रसारमा सहभागी हुन नहुने सम्बन्धमा

