स्थानीय कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन-नहुने सम्बन्धमा

१० फागुन २०८२

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय विदितै छ। उक्त आचारसंहिताको पूर्ण पालना गर्नु सरोकारवाला पक्षहरूको दायित्व हो र सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा आयोगले अनुगमन गरिरहेको छ। स्थानीय तहका केही जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिता विपरीत हुने गरी राजनीतिक दल तथा उम्मेदवारहरुको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएकोमा निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।

निर्वाचन आचारसंहिताको दफा ५ को खण्ड (क) को प्रतिबन्धात्मक वाक्यांश को बुँदा नम्बर (४) मा “स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछ” भन्ने व्यवस्था रहेको र सोही दफाको खण्ड (ख) ले त्यसरी निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नहुने भन्ने व्यवस्था गरेको हुँदा कुनै पनि स्थानीय कार्यपालिकाका पदाधिकारीले यस व्यवस्थाको अधीनमा रही मात्र निर्वाचन प्रचारप्रसारमा सहभागी हुन सक्ने देखिन्छ ।

अतः निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन सचेत गराउँदछ। साथै, सबै स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो पदको मर्यादा, तटस्थता तथा कानुनी दायित्वत्वलाई मनन गर्दै आचारसंहिता विपरीत हुने कुनै पनि प्रकारको निर्वाचन प्रचारप्रसार गतिविधिमा संलग्न नहुन आयोग निर्देशन गर्दछ। कुनै स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता, २०८२ प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गतिविधिमा सामेल भएको पाइएमा ऐ. आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुने व्यहोरा अवगत गराइन्छ। साथै निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको विषयमा जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा निर्वाचन कार्यालयबाट आवश्यक अनुगमन गर्नका लागि अनुरोध छ।