संवत् २०८२ साल फागुन ०१ गतेदेखि फागुन ०७ गतेसम्म सम्पादित मुख्य कार्यहरु

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी निर्वाचन आयोगले अन्तिम चरणमा पुर्याएको छ। आयोगबाट स्वीकृत कार्यतालिका अनुसार व्यवस्थापकीय कार्य तालिकाबद्ध र तोकिएको समयमा सञ्चालित छन्। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सम्पन्न भई सम्बन्धित जिल्लाहरुमा पठाउने कार्य जारी छन्। निर्वाचन सामग्री अधिकांश जिल्लामा पुर्याइसकिएको छ। स्वीकृत कार्यक्रम अनुसार मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम फागुन ३ देखि १७ गतेसम्म ७५३ स्थानीय तहका ६७४३ वडामा निरन्तर सञ्चालित छन्। निर्वाचन आचारसंहिता अनुगमन एवं परिपालनामा निरन्तरता दिँदै केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरुले सक्रियरुपमा कार्यसम्पादन गर्दै आएका छन्। २०८२ फागुन ४ गतेबाट राजनीतिक दलहरुले चुनावको मुख्य प्रचारप्रसारका गतिविधि सुरुवात गरेका छन्। प्रचारप्रसारलाई प्रचलित कानुन र आचारसंहिताको अधीनमा रही शिष्ट र मर्यादित बनाउन आयोगबाट राजनीतिक दल र उम्मेदवारहरुलाई निर्देशन भइसकेको यहाँहरुलाई सर्वविदितै छ। आयोगले हप्ताभरिमा सम्पादन गरेका मुख्य कार्यहरूको संक्षिप्त विवरण यसप्रकार छन्:
१. वडास्तरमा मतदाता शिक्षा कार्यक्रम
आम नागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम अनुसार यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६,७४३ वडाहरूमा एक-एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालित भएका छन्। आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने कार्य खटिएका स्वयंसेवकबाट भइरहेको छ। मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भइसकेको छ।
१.१. डिजिटल प्लेटफर्मबाट प्रचारप्रसार जारी
निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गतको मतदाता शिक्षा इकाईले हालसम्म ३४५ वटा सामग्री आयोगबाट स्वीकृत गराई आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा राखिएको छ। मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वसनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास आयोगले लिएको छ। यस्ता सामग्रीले डिजिटल प्लेटफर्मबाट समेत मतदाता शिक्षा कार्यक्रम प्रवर्धन र नागरिक तथा आम सरोकारवालाले आधिकारिक सूचना पाउने अपेक्षा आयोगको छ।
१.२. संवादमूलक सन्देश प्रसारण
मतदाता शिक्षा कार्यक्रम प्रवर्धनका लागि आयोगले उत्पादन गरेका संवादमूलक भिडिओ सन्देश, गीति सन्देश, लघु भिडिओ तथा जिंगलहरु प्रसारण सुरु गरेको छ। यस्ता सामग्री आयोगका आधिकारिक डिजिटल प्लेटफर्मबाट प्रसारण भइरहेका छन्। मतदातालाई निर्वाचनमा सहभागी हुन प्रेरित गर्ने, निर्वाचन स्वच्छता बढाउने तथा निर्वाचन आचारसंहिता पालनाका लागि उत्प्रेरित गर्ने सन्देशमूलक सामग्रीबाट मतदान प्रतिशत बढाउने तथा बदर मत प्रतिशत घटाउन भूमिका खेल्ने आयोगको अपेक्षा छ।
१.३. कलाकारहरुसँग सहकार्य
आसन्न निर्वाचनको प्रचारप्रसार र मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन आयोगले राष्ट्रिय कलाकार, सोसल मिडियाका कन्टेन्ट क्रियटर र इन्फ्लुयन्सरसँग सहकार्यका लागि छलफल गरेको छ। विशिष्ट परिस्थितिमा हुन गइरहेको निर्वाचनको महाउत्सवलाई सहयोग पुर्याउन आयोगले गरेको आग्रहलाई स्वीकार गर्दै सहभागी कलाकारहरुले मतदाता शिक्षा तथा निर्वाचन स्वच्छता प्रवर्धन र मिथ्या सूचना न्यूनीकरणका लागि सत्यतथ्य जानकारी आम मतदातासँग पुर्याउन आफ्ना डिजिटल प्लेटफर्ममा सन्देश प्रवाहको प्रतिबद्धता जनाउनुभएको छ।
२. जिल्ला-जिल्लामा पुर्याइँदै मतपत्र
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको व्यहोरा सर्वविदितै छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि २,०३,२३,००० (दुई करोड तीन लाख तेइस हजार) मतपत्र छपाइ तथा प्याकिङ्ग सम्पन्न भइसकेको जानकारी गराइन्छ। २०८२ माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरी सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा ढुवानी कार्य सम्पन्न भइसकेको र अन्य प्रदेशहरुमा ढुवानी कार्य जारी छ। मतपत्र बाहेकका अन्य निर्वाचन सामग्री ढुवानी सम्पन्न भइसकेको छ।
मतपत्र छपाइतर्फ आयोगले तोकेको क्यालेण्डर अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा २०८२ पुस २२ गतेबाट मतदाता शिक्षा प्रयोजनका लागि छपाइ सुरु भएको थियो। जस अनुसार १०,९८,२०० (दश लाख अन्ठानब्बे हजार दुई सय) नमूना मतपत्र छपाइ गरिएको थियो। २०८२ पुस २६ गतेबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी २०८२ माघ १३ गतेसम्म आवश्यक पर्ने जम्मा २,०८,३०,००० (दुई करोड आठलाख तीस हजार) मतपत्र छपाइ सम्पन्न गरिएको थियो।
३. निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन
निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरुले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्चको सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, 2082 स्वीकृत भई कार्यान्वयनमा रहेको सर्वविदितै छ। स्वीकृत कार्यविधि अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवारहरु र स्वतन्त्र उम्मेदवारहरुले कार्यविधि अनुसार निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिई गर्ने आम्दानी खर्च कारोबार सोही खातामार्फत हुने व्यवस्था गरिएको छ।
अद्यावधिक विवरण अनुसार ७ (सात) राजनीतिक दल र ८67 उम्मेदवारले बैंक खाता खोली सोको जानकारी सम्बन्धित कार्यालयहरुमा गराएका छन्।
३.१. खर्च व्यवस्थापनबारे दलहरुसँग छलफल
निर्वाचन खर्चको पारदर्शिता र आर्थिक स्वच्छता कायम गर्न निर्वाचन आयोगले प्रचारप्रसारका लागि राजनीतिक दल र उम्मेदवारका लागि छुट्टै बैंक खाता सञ्चालनमा ल्याएको जानकारीमै छ। यसै सन्दर्भमा निर्वाचन प्रचारप्रसार खर्च व्यवस्थापनबारे आयोगले राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न कार्यक्रममा ७५ राजनीतिक दलका प्रतिनिधि आमन्त्रित थिए।
चुनावी खर्चमा पारदर्शिता बढाउने उद्देश्यले आयोगले सातै प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गर्ने छ। राजनीतिक दलका प्रतिनिधिसँगै सरोकारवालाको प्रतिनिधित्व कार्यक्रममा रहने छ।
४. घोषणापत्र सार्वजनिक र जानकारी
निर्वाचनको घोषणापत्रप्रति राजनीतिक दल तथा उम्मेदवारलाई नागरिकसमक्ष जवपाफदेही बनाउने उद्देश्यले घोषणापत्र सार्वजनिक गर्ने र आयोग तथा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ ले गरेको छ। आचारसंहिताको सोही व्यवस्था बमोजिम प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुलाई २०८२ साल फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी तोकिएका निकायमा पेस गर्न निर्वाचन आयोगले निर्देशन समेत दिएको थियो। आयोगको निर्देशानुसार ४१ राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गरी सोको जानकारी आयोगमा गराएका छन्।
५. आचारसंहिता अनुगमन र कारबाही
निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाहीका प्रक्रिया जारी राखेको छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरु क्रियाशील छन्।
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त उजुरीमध्ये ७५ वटाका सम्बन्धमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकोमा जम्मा ५२ वटाको जवाफ प्राप्त भएको छ।
जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई समुच्च विषय र प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ। अनुगमन अधिकृतहरुले आचारसंहिता परिपालनाका लागि राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालासँग छलफल गर्ने, आचारसंहिता उल्लङ्घनका घटनाको जानकारी लिने र स्पष्टीकरण लिनेलगायतका काम प्रभावकारी रुपमा अघि बढाइरहेका छन्।
6. हानिकारक सूचना पहिचान र कारबाही
निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवर्धन इकाई पूर्णरूपमा क्रियाशील छ।
हानिकारक सूचना उत्पादन एवम् सम्प्रेषण गर्ने २९० वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा र ११ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ। त्यस्तै ६५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र १ वटालाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम कारबाहीका लागि पठाइएको छ।
7. पर्यवेक्षकलाई अभिमुखीकरण
निर्वाचनको स्वच्छता प्रवर्धन, पारदर्शिता अभिवृद्धि तथा लोकतान्त्रिक वैधता सुनिश्चित गर्न आयोगले निर्वाचन पर्यवेक्षणलाई महत्वका साथ अघि बढाइरहेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि आयोगले राष्ट्रियतर्फका ३७ वटा र अन्तर्राष्ट्रियतर्फ ४ वटा गरी ४१ संस्थालाई पर्यवेक्षण अनुमति प्रदान गरेको छ।
अनुमति पाएका संस्थाका तर्फबाट पर्यवेक्षकको नाम प्रविष्ट गर्ने कार्य सम्पन्न भई आयोगले संस्थाका प्रतिनिधिहरुलाई अभिमुखीकरण सम्पन्न गरिसकेको छ। आयोगले अनुमतिप्राप्त संस्थाका करिब चार हजार ३०० जना पर्यवेक्षकका लागि परिचयपत्र जारी गरिसकेको छ।
8. कल सेन्टर तीन हजार बढी जिज्ञासा
आम मतदाता तथा सरोकारवालाको निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि आयोगले माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको कल सेन्टरमा फागुन ७ गतेसम्म भ्वाइस मेलसमेत गरी जम्मा ३०६४ वटा जिज्ञासा तथा प्रश्नहरू प्राप्त भएका छन्। प्राप्त जिज्ञासामध्ये मतदाता नामावलीसँग सम्बन्धित १५०८, निर्वाचन आचारसंहितासँग सम्बन्धित ३११ मतदाता शिक्षा सम्बन्धित १२५ र अन्य ८०० रहेका छन्। कूल जिज्ञासामा ३२० भ्वाइस मेल रहेका छन्।
शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारी निर्वाचन प्रचारप्रसारमा सहभागी हुन नहुने सम्बन्धमा

