आचारसंहिता विपरीत गतिविधि भए कारबाही गर्छौं : आयुक्त डा. जानकी कुमारी तुलाधर

२७ माघ २०८२

कैलाली–आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचार संहिता कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

धनगढीमा आयोजित निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक छलफल कार्यक्रमका सहभागीहरूले आचारसंहिता उल्लङ्घनका घटनामा कडा कानूनी कारबाही गर्नुपर्ने बताउनु भएको छ ।

कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले निर्वाचन आयोग शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गराउन सक्रिय रहेको बताउनुभयो । उहाँले आचारसंहिता विपरीत गतिविधि भएमा उजुरी दिन सकिने व्यवस्था रहेको उल्लेख गर्दै उलङ्घन पुष्टि भए कानुनी कारबाही अघि बढाइने स्पष्ट पार्नुभयो । निर्वाचन केवल आयोगको मात्र जिम्मेवारी नभई राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र नागरिक सबैको साझा दायित्व भएको उहाँको भनाइ छ ।

निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन नगरेसम्म शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्भव नभएकोले निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी तथा नागरिक समाजले निर्वाचन आचारसंहिताको पालना गर्नुपर्नेमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तिरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले धारणा व्यक्त गर्नुभयो ।

निर्वाचनसँग सरोकारवालाहरूको सहभागिता रहेको कार्यक्रममा नेपाल सरकारका पूर्व कानुन सचिव फणिन्द्र गौतम, निर्वाचन आयोगका उपसचिव विष्णुप्रसाद पौडेल र निर्वाचन आयोगका सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचन आचारसंहिता सम्बन्धि प्रस्तुति राख्नुभएको थियो ।