निर्वाचन प्रक्रियालाई अझ पारदर्शी, विश्वसनीय र जनउत्तरदायी बनाउन निर्वाचन पर्यवेक्षकहरूको भूमिका महत्वपूर्ण हुन्छ : माननीय आयुक्त डा. जानकी कुमारी तुलाधर

२३ माघ २०८२

कार्यक्रमको अध्यक्षता गरिरहनुभएका माननीय आयुक्तज्यू, निर्वाचन आयोगका माननीय कार्यवाहक प्रमुख निर्वाचन आयुक्तज्यू, सचिवज्यू, सहसचिवज्यूहरू, निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू, एवं उपस्थित सम्पूर्ण महानुभावहरू,

लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वसनीय हुनु अत्यन्तै आवश्यक छ। यही उद्देश्य प्राप्ति गर्न निर्वाचन आयोगसँग सहकार्य गर्दै निर्वाचन प्रक्रियाको पर्यवेक्षण र अवलोकन गर्ने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुहुने निर्वाचन पर्यवेक्षण अनुमति प्राप्त राष्ट्रिय संस्थाहरूको भूमिका अत्यन्तै सराहनीय र महत्त्वपूर्ण रहेको छ।

निर्वाचन केवल मतदान गर्ने प्रक्रियामात्र होइन, यो जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम पनि हो। यस प्रक्रियामा आम मतदाताको विश्वास कायम राख्न, कानुनी व्यवस्था र आचारसंहिताको पालना सुनिश्चित गर्न तथा निर्वाचन व्यवस्थापनलाई थप सुधारोन्मुख बनाउन यहाँहरूबाट गरिने निष्पक्ष, वस्तुनिष्ठ र जिम्मेवार पर्यवेक्षणले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा आयोगले गरेको छ।

निर्वाचन पर्यवेक्षण कार्यमा निर्वाचनसम्बन्धी प्रचलित कानुन, नियम, निर्देशिका तथा निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना हुनु आवश्यक छ। पर्यवेक्षकहरू कुनै पनि राजनीतिक दल, उम्मेदवार वा सरोकारवाला पक्षको प्रभाव, आग्रह वा दबाबमा नपरी निष्पक्ष रूपमा आफ्नो कर्तव्यमा संलग्न हुनुपर्दछ।

पर्यवेक्षण कार्यमा संलग्न रहँदा तटस्थता, निष्पक्षता र व्यावसायिक आचरण अत्यावश्यक छ। व्यक्तिगत धारणा, पूर्वाग्रह वा अनुमानका आधारमा निष्कर्ष
निकाल्ने कार्य नगरी तथ्यमा आधारित पर्यवेक्षण र अवलोकनमा केन्द्रित हुन आग्रह गर्दछु।

पर्यवेक्षणका क्रममा मतदान प्रक्रिया, मतगणना वा निर्वाचन व्यवस्थापनमा संलग्न कर्मचारीको नियमित कार्यमा कुनै किसिमको अवरोध, हस्तक्षेप वा प्रभाव पर्ने गतिविधि तथा कुनै पनि पक्षपातपूर्ण व्यवहार गर्न नपाइने कुरा अभिमुखीकरणमार्फत पर्यवेक्षण कार्यमा खटाइने पर्यवेक्षकहरूलाई जानकारी गराउनुहुनेछ भन्ने विश्वास लिएको छु। प्रचलित निर्वाचन कानुन र आचारसंहिताको उल्लंघनतर्फ सचेत रहनु जरुरी छ।

पर्यवेक्षणका क्रममा प्राप्त सूचना, निष्कर्ष वा टिप्पणी सार्वजनिक गर्दा आयोगद्वारा तोकिएको प्रक्रिया र समयसीमाको पालना गर्नुपर्दछ। अपुष्ट, अपूर्ण वा भ्रामक सूचना सार्वजनिक गरी निर्वाचनको विश्वसनीयतामा असर पार्ने कार्यबाट पर्यवेक्षकहरू टाढा रहनु आवश्यक छ।

निर्वाचन आयोग, निर्वाचनमा खटिएका कर्मचारी तथा अन्य सरोकारवालासँग आवश्यक समन्वय र सहकार्य गर्दै पर्यवेक्षण कार्यलाई मर्यादित र प्रभावकारी बनाउनुहुनेछ भन्ने अपेक्षा आयोगले गरेको छ।

निर्वाचन आयोगले तपाईंहरूलाई केवल पर्यवेक्षकको रूपमा मात्र होइन, लोकतन्त्र सुदृढीकरणका साझेदारको रूपमा हेरेको छ। पर्यवेक्षण पश्चात् यहाँहरूबाट पेश हुने सुझाव, सिफारिस तथा प्रतिवेदनले आगामी दिनमा निर्वाचन प्रणाली सुधार गर्न महत्त्वपूर्ण आधार प्रदान गर्नेछ भन्नेमा आयोग विश्वस्त छ।

अन्त्यमा, निर्वाचन प्रक्रियालाई अझ पारदर्शी, विश्वसनीय र जनउत्तरदायी बनाउन तपाईंहरू सबैले उच्च नैतिकता, व्यावसायिकता र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा व्यक्त गर्दै, अभिमुखीकरण कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु। (प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा राष्ट्रिय पर्यवेक्षक संस्थाहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा माननीय आयुक्त डा. जानकी कुमारी तुलाधरले व्यक्त गर्नुभएको मन्तव्य)