संवत् २०८२ साल माघ १८ देखि २३ गतेसम्म सम्पादन भएका मुख्य-मुख्य कार्यहरु

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी अन्तर्गत डिजिटल प्लेटफर्म टिकटकसँग सहकार्यमा हस्ताक्षर सम्पन्न गरेको छ। आयोगले मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरी प्रदेशस्तरमा अभिमुखीकरण कार्यक्रमसहित प्रत्येक वडास्तरमा स्वयंसेवक खटाउने तयारी गरेको छ। समानुपातिक निर्वाचन प्रणाली (PR) तर्फ राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गर्नुका साथै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (FPTP) तर्फको मतपत्र छपाइ जारी छ। शुक्रबार बिहान ८:०० बजेसम्म ७० निर्वाचन क्षेत्रका ८४ लाख ४० हजार मतपत्र छपाइ सकिएको छ। निर्वाचन आचारसंहिता अनुगमन एवं अनुपालनामा निरन्तरता दिंदै केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरुलाई सक्रिय पारिएको छ। आयोगले यस हप्ताभरिमा सम्पादन गरेका मुख्य-मुख्य कार्यहरूको संक्षिप्त विवरण यस प्रकार रहेको छः
(क) मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत
आम मतदातालाई निर्वाचनका विविध पक्षको जानकारीका साथै मताधिकारबारे सचेत गराउने तथा सही मतसंकेतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको सर्वविदिदै छ। डिजिटल प्लेटफर्ममा भइरहेको सचेतनालाई आयोगले वडास्तरमा पुर्याउने लक्ष्यसहित २०८२ माघ १९ गते मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरेको छ। स्वीकृत कार्यक्रम अनुसार प्रत्येक स्थानीय तहका हरेक वडामा एक/एक जना स्वयंसेवक परिचालन हुनेछन्।
सम्बन्धित निर्वाचन कार्यालयबाट छनोट प्रक्रिया अघि बढाउने गरी स्थानीयस्तरमा कार्यरत बाल विकास सहजकर्ता वा मातृशिशु कार्यकर्ता वा स्थानीय स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन केन्द्रका परिचालकमध्येबाट एक जना स्वयंसेवक छनोट हुनेछन्।
मतदाता शिक्षा सामग्री उत्पादन र प्रभावकारी परिचालनका लागि सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यम तथा विभिन्न क्षेत्रका नियामक निकायसँग पनि सम्झौता सम्पन्न भएको छ। सार्वजनिक सेवा प्रसारण नेपाल, गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति, विज्ञापन बोर्ड र सञ्चार माध्यमको नियामक निकाय प्रेस काउन्सिल नेपालसँग पनि सहकार्यको सहमति भएको छ।
प्रभावकारी मतदाता शिक्षाले मतदातालाई मतदान प्रक्रिया, मतसंकेत र मिथ्या सूचना पहिचान गर्ने क्षमता अभिवृद्धि हुने तथा स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचन सुनिश्चित गर्न समेत महत्त्वपूर्ण भूमिका खेल्ने आयोगले विश्वास लिएको छ।
(ख) मतपत्र छपाइ र प्याकिङ्ग
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लि., सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली (PR) तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (FPTP) अन्तर्गत हुने निर्वाचनका लागि मिति २०८२ पुस २२ गतेबाट १०,९८,२०० (दश लाख अन्ठानब्बे हजार दुई सय) नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लाहरुमा पठाइसकिएको छ।
२०८२ पुस २६ गतेबाट समानुपातिक निर्वाचन प्रणाली (PR) तर्फको मतपत्र छपाइ सुरु गरी २०८२ माघ १३ गतेसम्म आवश्यक पर्ने जम्मा २,०८,३०,००० (दुई करोड आठलाख तीस हजार) मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ्ग तथा रुजुसमेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (FPTP) अन्तर्गतका लागि आवश्यक पर्ने जम्मा २,०३,२३,००० (दुई करोड तीन लाख तेइस हजार) मतपत्र छपाइ गर्नुपर्नेमा २०८२ माघ २३ गते बिहान ८:०० बजेसम्म ७० निर्वाचन क्षेत्रका जम्मा ८४,४०,००० (चौरासी लाख चालिस हजार) मतपत्र छपाइ भई ७,१३४ (सात हजार एक सय चौंतिस) बाकस प्याकिङ्ग भइसकेको छ।
हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ र गुल्मी गरी जम्मा ३२ जिल्लाको छपाइ तथा प्याकिङ्ग सम्पन्न भइसकेको जानकारीका लागि अनुरोध छ।
(ग) डिजिटल प्लेटफर्मसँग सहकार्य
प्रतिनिधि सभा सदस्य निर्वाचनको स्वच्छता प्रवर्धनका लागि निर्वाचन आयोग, नेपाल र टिकटकबिच २०८२ माघ २१ मा एक समझदारीपत्र आदान-प्रदान भयो। निर्वाचन आयोगका सहसचिव श्री नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट श्री फेर्दोस अल मत्ताकिन (Mr. Ferdous Al Mottakin, Head of Government Relations and Public Policy) ले एक कार्यक्रमबिच आदान-प्रदान गर्नुभएको थियो।
समझदारीपत्र अनुसार टिकटकले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको स्वच्छता प्रवर्धन तथा आयोगको क्षमता अभिवृद्धिमा नि:शुल्क सहकार्य गर्नेछ। यो सहकार्यले निर्वाचनसम्बन्धी सही, भरपर्दो र समयमै सूचना सर्वसाधारणको पहुँचमा पुर्याउने तथा निर्वाचनलाई असर पार्नसक्ने भ्रामक सूचना तथा हानिकारक सामग्रीको नियन्त्रणका लागि आयोगबाट भइरहेको प्रयासमा योगदान पुग्ने आयोगको विश्वास छ। आयोगले अन्य सामाजिक सञ्जालका कम्पनीहरुसँग पनि सहकार्यका लागि निरन्तर संवाद गरिरहेको छ।
(घ) हानिकारक सूचना पहिचा न र कारबाही सिफारिस
निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र (EIDC) अन्तर्गत सूचना सदाचार प्रवर्धन इकाई (IIPU) पूर्णरूपमा क्रियाशील छ। हानिकारक सूचना उत्पादन एवम् सम्प्रेषण गर्ने १८१ वटा कन्टेन्ट उत्पादक/सम्प्रेषकलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ बमोजिम कारवाहीका लागि नेपाल प्रहरीको साइवर ब्यूरोमा र ७ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ। त्यस्तै ४० वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारवाहीका लागि प्रेस काउन्सिल, नेपालमा र ४७ वटालाई निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कारबाहीका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ।
(ङ) निर्वाचन आचारसंहिता कार्यान्वयनको अनुगमन र नियमन
निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारवाहीको प्रक्रिया अघि बढाइरहेको छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरु क्रियाशील छन्।
जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक/कोप नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको र छोटो समयमै सबै जिल्लामा सरोकारवालाहरूलाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिवद्धता गराउने कार्य प्रभावकारी रुपमा भइरहेको छ।
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त उजुरीमध्ये ३४ वटाका सम्बन्धमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकोमा जम्मा २४ वटाको जवाफ प्राप्त भएको छ। जिल्लास्तरमा समेत उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेका छन्।
(च) समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक
प्रतिनिधि सभा सदस्य निर्वाचन समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरेको छ। उक्त बन्दसूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्हमा ३,१३५ (तीन हजार एक सय पैंतिस) उम्मेदवार कायम भएका छन्। जसमा १,७७२ महिला र १,३६३ पुरूष उम्मेदवार रहेका छन्।

