निर्वाचन कानुनको अवज्ञा क्षम्य हुँदैन् : प्रमुख आयुक्त थपलिया

७ फागुन २०७९

निर्वाचन आयोगले ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ आज सातौँ निर्वाचन दिवस मनाएको छ । आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन खर्च विवरण समयमै बुझाउन उम्मेदवारहरूलाई अनुरोध गर्नुभएको छ । कार्यक्रममा प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘आयोग निर्वाचन कानुनमा भएको व्यवस्था अनुसार अघि बढ्छ, निर्वाचन कानुनको अवज्ञा क्षम्य हुँदैन ।’

अघिल्ला निर्वाचनहरूको तुलनामा यस वर्ष भएका निर्वाचनमा आयोगले केही नीतिगत सुधार गरी नवीनतम अभ्यास गरेको उल्लेख गर्दै उहाँले यसलाई निरन्तर जारी राख्दै निर्वाचन व्यवस्थापनमा गुणात्मक परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचना सहित समयानुकुल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरी पेश गर्न लागिएको उहाँले बताउनुभयो ।

निर्वाचनमा मतदाताहरूको उत्साहपूर्ण सहभागिता र लैङ्गिक सहभागिताको विषय व्यापकरूपमा उठिरहेको हुँदा आयोगले यस विषयमा राजनीतिक दल, सरोकारवाला पक्षसँग छलफल गरेर अघि बढ्ने प्रमुख आयुक्त थपलियाले बताउनुभयो । मतदाता नामावलीको शुद्धीकरणका लागि आयोगको सूचना प्रविधि प्रणालीलाई परिष्कृत बनाउँदै लगिने उहाँले बताउनुभयो ।

कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिने सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिनुभयो । उक्त अवसरमा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट ठहरिएका आयोगका कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो ।

पुरस्कृत भएका कर्मचारीहरूको विवरण

उपसचिव (कानून) श्री लक्ष्मी शर्मा
लेखा अधिकृत श्री विष्णुप्रसाद न्यौपाने
कम्प्युटर इन्जिनियर श्री अर्जुन पौडेल
नायब सुब्बा श्री गोविन्द प्रसाद भट्टराई
नायब सुब्बा श्री राजेन्द्र मरासिनी
कम्प्युटर अपरेटर श्री सुमेश श्रेष्ठ
खरिदार श्री पूर्णकली थापा
हलुका सवारी चालक श्री भीमबहादुर श्रेष्ठ
नायब सुब्बा श्री दिव्यधरी जोशी (भोजपुर)
कम्प्युटर अपरेटर श्री प्रेम प्रसाद न्यौपाने (झापा)
हालुका सवारी चालक श्री इन्दल हजरा दुसाद (बारा)
जिल्ला निर्वाचन अधिकारी रञ्जिता झा (पर्सा)
जिल्ला निर्वाचन अधिकारी श्री भिमसेन कार्की (चितवन)
लेखापाल श्री कृष्णप्रसाद पन्थी (भक्तपुर)
नायब सुब्बा श्री जिवाखर शर्मा (लमजुङ)
कम्प्युटर अपरेटर श्री अनन्त सुवेदी (मनाङ)
कम्प्युटर अपरेटर श्री गेहेन्द्र कुँवर (दाङ)
नायब सुब्बा श्री इन्दिरा अधिकारी आचार्य (रोल्पा)
कम्प्युटर अपरेटर श्री तेजेन्द कुमार चन्द (सल्यान)
नायब सुब्बा श्री श्याम बहादुर राना (हुम्ला)
जिल्ला निर्वाचन अधिकारी श्री प्रदीपसिंह धामी (दार्चुला)
कार्यालय सहयोगी श्री टेक बहादुर चन्द (कैलाली)