शाखा अधिकृत मनोजकुमार यादवलाई स्पष्टीकरण

१५ कार्तिक २०७९

निर्वाचन आयोगले सप्तरीको राजविराज नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादवलाई राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको छ ।

यादवविरुद्ध सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादवको प्रचारप्रसार गरेको भनी उजुरी परेको सन्दर्भमा आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन । सोही दफाको खण्ड (ख) अनुसार निजहरुले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन हुँदैन ।

‘उल्लेखित सन्दर्भमा तपाईंले दलको राजनीतिक गतिविधिमा तथा प्रचारप्रसारमा संलग्न हुनुभएको कार्यले निर्वाचन आचारसंहिता, २०७९ र प्रचलित निजामति सेवासम्बन्धी कानून समेतको उल्लङ्घन हुने भएकोले तपाईंलाई प्रचलित कानून बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’ स्पष्टीकरणमा भनिएको छ, ‘प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय, सप्तरीमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ । अन्यथा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा यसै पत्रबाट जानकारी गराइन्छ ।’