सुसूचित मतदाता तयार पार्न सञ्चारकर्मीको भूमिका अपरिहार्य : आयुक्त डा. तुलाधर

१५ कार्तिक २०७९

निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले मतदानमा खसेको मत बदर नहोस् भन्ने आयोगको लक्ष्यमा सघाउन समुदायस्तरमा मतदातालाई सही सूचना दिएर सुसूचित मतदाता तयार गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका निर्वाचनका लागि आयोगले कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको आज उद्घाटन गर्दै आयुक्त डा. तुलाधरले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गराउन आयोग लागिरहेको बताउँदै निर्वाचन आचारसंहिताको अनुगमन र पालनामा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।
उहाँले निर्वाचनको सञ्चालन, व्यवस्थापन, नियन्त्रण र रेखदेखका लागि संविधानले दिएको जिम्मेवारी पूरा गर्न आयोग कटिबद्ध रहेको र आचारसंहितामा पहिलो पटक मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई परिभाषित गरी त्यसलाई नियमनको व्यवस्था गरिएको बताउनुभयो ।

आयोगका सूचना र गतिविधिबारे आममतदाता र सञ्चारमाध्यमको सहज पहुँचका लागि आयोगले प्रेस अफिसको सञ्चालन, निर्वाचन इ बुलेटिनको सञ्चालन र टोल फ्रि नम्बर ११०२ बाट कल सेन्टरको सञ्चालन भइरहेकाले त्यसबाट लाभ लिन उहाँले आग्रह गर्नुभयो ।

मिडियाको भूमिका स्थानीय तहको निर्वाचनमा सशक्त रहेको आफूहरूले पाएको उल्लेख गर्दै आयुक्त तुलाधरले भन्नुभयो, ‘निर्वाचन आचारसंहिताको कार्यान्वयनमा आयोग कडाइका साथ प्रस्तुत भएको छ । निर्वाचनका लागि अब १९ दिन मात्र बाँकी रहेको अवस्थामा कात्तिक १७ गतेदेखिको निर्वाचन प्रचारप्रसार अझै पेचिलो हुने देखिन्छ । यस सन्दर्भमा सञ्चार र सबै क्षेत्रको सहयोगविना निर्वाचन सम्पन्न गराउन कठिन हुनेछ ।’ आयोगले सबै गतिविधि संविधान, ऐन, निर्देशिका र कार्यविधिअनुसार गरिरहेको अवगत गराउँदै उहाँले सम्बन्धित पक्षसँगको समन्वय र सहकार्यमा जोड दिइएको स्पष्ट पार्नुभयो ।

उहाँले सञ्चारकर्मीप्रति आयोगको ठूलो विश्वास रहेकाले आयोगले आचारसंहिताको अनुगमनलगायतका संरचनामा सञ्चार क्षेत्रको प्रतिनिधित्वलाई अभिन्न अंगका रूपमा व्यवस्था गरेको र यस प्रकारको मिडिया अभिमुखीकरण ७७ वटै जिल्लामा सञ्चालन गरी मतदाता जागरण र आचारसंहिताबारे स्पष्ट जानकारी दिइएको बताउनुभयो ।
सुर्खेतका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेका कार्यक्रमको दोस्रो सत्रमा आयोगका तर्फबाट सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेल र राष्ट्रिय समाचार समिति (रासस) का तर्फबाट महाप्रबन्धक सिद्धराज राईले प्रस्तुतीकरण गर्नुभएको छ ।