एकीकृत समाजवादीका उम्मेदवार कृष्णकुमार श्रेष्ठ लाेसपाका उम्मेदवार जितेन्द्र सोनललाई स्पष्टीकरण

निर्वाचन आयोगले बारा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार कृष्णकुमार श्रेष्ठ र सोही क्षेत्र ४ (२)का लागि प्रदेश सभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जितेन्द्र सोनललाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचनको स्थिर अवधि शुरु भइसकेको अवस्थामा प्रचारप्रसार जारी राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । दुवै जनलाई एकै व्यहोराको पत्र लेख्दै आयोगले भनेको छ: तपाईंले निर्वाचन आचारसंहिता विपरित हुने गरी मौन अवधिमा घरदैलो गरेको बारे अन्नपूर्ण पोष्ट डटकममा समाचार प्रकाशन भएको प्रति आयोगको ध्यानाकर्षण भई यो पत्र लेखिएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ को उपदफा (१) को खण्ड (क) मा “निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने” व्यवस्था छ । आचारसंहिताको साेही दफाको उपदफा (१) को खण्ड (ग) मा “कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने” व्यवस्था छ ।
उपराेक्त बमाेजिम तपाईंहरुले निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ को उपदफा (१) को खण्ड (क) र खण्ड (ग) को विपरित हुने कार्य गर्नुभएको होईन भन्ने आधार कारण के छ? तपाईंबाट निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ को उपदफा (१) को खण्ड (क) र खण्ड (ग) को विपरित हुने कार्य भएको ठहर भएमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही नहुनु पर्ने कारण के छ? पत्र प्राप्त भएको समयले १२ घण्टाभित्र आयोगको इमेल ठेगाना ecn.ppm@election.gov.np मा वा जिल्ला निर्वाचन कार्यालय बारामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न भनिएकाे छ ।

