शहरी विकास मन्त्रालयका सचिवलाई स्पष्टीकरण

निर्वाचन आयोगले शहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंहलाई स्पष्टीकरण सोधेको छ । मतदाता प्रभावित गर्नेगरी निर्वाचन क्षेत्रमा प्रवेश गरेको भन्ने समाचार सार्वजनिक भएपछि आयोगले शुक्रबार डा. सिंहलाई स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । त्यस्तै सोहि दफाको खण्ड (ख) अनुसार निजहरुले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन नहुने व्यवस्था छ ।
सोही व्यवस्था उल्लेख गर्दै आयोगले लेखेको स्पष्टीकरण पत्रमा भनिएको छ M उल्लेखित सन्दर्भमा तपाईं के कति कारणले दाङ जिल्लामा जानुभएको हो? तपाईं नेपाल सरकारको सचिव रहेको व्यक्ति नियमानुसार विदा वा काज स्वीकृत गरी दाङ जानुभएको हो, होइन? तपाईंले दाङ जिल्लामा गई मतदातालाई प्रभावित गर्ने कार्य गर्नुभएको छैन भन्ने आधार प्रमाण के छ? यदि तपाईंले मतदातालाई प्रभावित गर्ने कार्य गरेको हो भने उक्त कार्य निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने र यदि तपाईं नियमानुसार विदा वा काज स्वीकृत नगराई दाङ जानुभएको हो भने प्रचलित निजामति सेवा सम्बन्धी कानून प्रतिकूल हुने हुँदा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) र ऐ. ऐनको दफा ४४ बमोजिमको कारवाही हुनु नपर्ने कारण के छ? यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना ecn.ppm@election.gov.np मा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश भनिएकाे छ ।
आयोगले यसबारे मुख्य सचिवलाई समेत पत्र लेख्दै शहरी विकासमन्त्रीको दाङ भ्रमणबारे जानकारी गराईदिन आग्रह गरेको छ । आयोगको पत्रमा भनिएको छ, रमेश सिंहले दाङमा गई मतदातालाई प्रभावित गर्ने कार्य गरेको भन्ने जानकारी प्राप्त भएको सम्बन्धमा यो पत्र लेख्ने कार्य भएको छ । उल्लेखित सन्दर्भमा निज नियमानुसार बिदा वा काज स्वीकृत गराई दाङ गए नगएको सम्बन्धमा जानकारी उपलब्ध गराईदिनुहुन निर्णयानुसार सादर अनुरोध छ ।

