मुख्य निर्वाचन अधिकृतबाट मतदानस्थलको निरीक्षण

कैलाली । कैलालीका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल नेतृत्वको टोलीले आशन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि जिल्लाको निर्वाचन क्षेत्र नं. ५ मा तोकिएका मतदानस्थलको आज निरीक्षण गरी वस्तुस्थितिबारे जानकारी लिनुभएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापासमेत संलग्न सो टोलीले क्षेत्र नं. ५ भित्र पर्ने बेला आधारभूत प्राथमिक विद्यालय र राष्ट्रिय माध्यमिक विद्यालय मतदानस्थलको निरीक्षण गरेको हो । उहाँहरुले निर्वाचन क्षेत्र नं. ३ का विभिन्न मतदानस्थलको समेत निरीक्षण गर्नुभएको थियो । जिल्लामा २३७ मतदानस्थल तोकिएको छ ।
नमूना मतदान
यसैबीच बेला गाउँमा गरिएको नमूना मतदानमा अधिकांश स्थानीय रानाथारु समुदायका मतदाता सहभागी भएका थिए । मतदानमा ६६मत खसेकोमा ६३ मत सदर भएको छ । प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले स्थानीय मतदातालाई मतदान गर्ने सही तरिकाबारे जानकारी दिनुभएको थियो ।

