स्थानीय तहका कार्यपालिकाका पदाधिकारीले आफू निर्वाचित भएको पालिकाभित्र प्रचारप्रसारमा संलग्न हुन नहुने

निर्वाचन आयोगले स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएको पाइएकामा ध्यानाकर्षण गराएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ मा ती पदाधिकारीले आफू निर्वाचित भएको स्थानीय तह बाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी आदि)को प्रयोग नगरी मात्रै गर्न पाइने व्यवस्था छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले असोज २६ गते जारी गर्नुभएको विज्ञप्तिमा आचारसंहिता विपरीत आफू बहाल रहेको स्थानीय तहमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार कार्यमा संलग्न भएको भन्ने उजुरी आएको तथा आयोगको अनुगमनबाट समेत देखिएकोले स्पष्टीकरण सोधी कारबाही गर्न जिल्ला अनुगमन समितिलाई निर्देशन दिइएको जनाइएको छ ।
आयोगले स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम निजलाई कार्वाही गर्न स्पष्टीकरण सोधी तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृत
(कोष तथा लेखा नियन्त्रक कार्यलयका प्रमुख) लाई निर्देशन दिएको हो । साथै सोको सम्पूर्ण विवरण तत्काल जिल्ला आचारसंहिता अनुगमम समिति र आयोगमा पठाउने र कारबाही प्रक्रिया अघि बढाउन आवश्यकता अनुसार जिल्ला आचारसंहिता अनुगमन समिति तथा निर्वाचन कार्यलयले आवश्यक सहजीकरण र सहयोग गर्न भनिएको छ ।
स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ बमोजिम आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको कार्यालय तथा प्रमुख प्रशासकीय अधिकृतलाई पनि आयोगले निर्देशन दिएको हो ।

