निर्वाचन प्रचार प्रसारमा सरकारी स्रोत साधनको दूरुपयोग भए नभएको अनुसन्धान गरिदिन अख्तियारलाई आयोगको अनुरोध

७ कार्तिक २०७९

निर्वाचन आयोगले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री लगायतका पदाधिकारीले निर्वाचन प्रचार प्रसार सम्बन्धी कार्यको लागि हेलिकप्टर लगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने गरेको भनी विभिन्न माध्यमबाट सूचना प्राप्त भएकोले प्रधानमन्त्री र मन्त्री समेतका पदाधिकारीहरूले निर्वाचन आचार संहिताको प्रतिकूल हुने गरी निर्वाचन प्रचार प्रसारका क्रममा सरकारी साधन स्रोत (हेलिकप्टर तथा अन्य साधन समेत) प्रयोग गरेको कार्यबाट अख्तियारको दूरुपयोग भएको भए सोको आवश्यक निगरानी तथा अनुसन्धान गरिदिन अनुरोध गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गर्ने प्रयोजनको लागि निर्वाचन आचारसंहिता,२०७९ को व्यवस्था लागू भईसकेको छ । सो आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले गर्न सक्ने निर्वाचन प्रचार प्रसारलाई सीमित गर्नुको साथै सो दफाको उपखण्ड (क १) ले त्यसरी प्रचार प्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग गर्न रोक लगाएको छ । सो व्यवस्था कार्यान्वयनको लागि आयोगले पटक पटक राजनीतिक दलहरुको ध्यानाकर्षण गर्दै आएको छ भने राजनीतिक दलका प्रमुख पदाधिकारीबाट निर्वाचन आचारसंहिता पालनाको प्रतिबद्धता समेत प्राप्त गरेको छ ।