निर्वाचनका लागि कल सेन्टरको शुभारम्भ

२८ असोज २०७९

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आजदेखि कल सेन्टरको सञ्चालन गरेको छ । मतदाता शिक्षा तथा निर्वाचनसँग सम्बन्धित सरोकारवालाका प्रश्न तथा जिज्ञाशा लिई सम्बोधन गर्न स्थापित कल सेन्टरको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले शुभारम्भ गर्नुभयो । निःशुल्क रहेको (टोल फ्रि नं.) ११०२ नम्बरमा जुनसुकै दूर सञ्चार सेवा प्रदायकका फोनबाट सम्पर्क गर्न सकिने गरी उक्त सेवा सञ्चालनमा आएको हो । कल सेन्टर २४ घण्टा नै सञ्चालनमा रहने छ । यद्यपी तत्कालका लागि कर्मचारीहरु भने दैनिक बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म रहने छन् ।

उनीहरु नभएको अवस्थामा सरोकारवालाको प्रश्न स्वत रेकर्ड हुने व्यवस्था गरिएको थपलियाले बताउनुभएको छ । उक्त रेकर्डेड प्रश्नलाई पछि कर्मचारीहरुले सुनेर सम्बन्धित व्यक्तिको उत्तर दिने व्यवस्था गरिएको छ । कल सेन्टरको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले शिष्ट र नम्र भाषामा प्रश्नकर्ताको उत्तर दिन कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।