सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा गर्नुभएको सम्बोधन 

१२ चैत २०८२

सम्माननीयहरू,
माननीय मन्त्रीहरू,
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्तलगायत संवैधानिक निकायका प्रमुख तथा सदस्यहरू
उपस्थित महिला तथा सज्जनवृन्द !

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । देशको जटिल र कठिन परिस्थितिबाट मुलुकलाई निकास दिनका लागि घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अहोरात्र खटेर मन, वचन र कर्मले क्रियाशील भै शान्तिपूर्णरुपमा सफलतापूर्वक सम्पन्न गरी आजको यस सुखद् घडीसम्म ल्याइपु¥याएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरूलगायत निर्वाचन आयोग परिवारलाई धन्यवाद दिन चाहन्छु ।

निर्वाचनको लागि आवश्यक पर्ने स्रोत साधन उपलब्ध उपलब्ध गराउनेदेखि भरपर्दो सुरक्षा व्यवस्था मिलाएकोमा नेपाल सरकारलाई पनि धन्यवाद दिन चाहन्छु ।
अहोरात्र खटिनुहुने राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीलगायत लोकतन्त्रको अटल धरोहरको रुपमा रहेको निर्वाचन सफल बनाउन आ– आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्नु भएकोमा सम्पूर्ण देशवासी दिदीबहिनी तथा दाजुभाईलाई पनि धन्यवाद दिन चाहन्छु ।

निर्वाचनमा पर्यवेक्षण गर्ने कुटनीतिक नियोगहरू, विभिन्न देशका निर्वाचन व्यवस्थापन निकायहरू, अन्तरराष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संस्थाहरू सबैलाई धन्यवाद दिन चाहन्छु ।

आयोगले यस पटक निर्वाचनमा मतदाताको सहभागिता बढाउने, मितव्ययीता र पारदर्शीता कायम गर्ने, आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्ने, हरित निर्वाचनको अवधारणा कार्यान्वयन गर्नेलगायतका क्षेत्रमा उल्लेखनीय कार्य गरेको छ । यसले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष, विश्वसनीय र वातावरण मैत्री बनाउन मद्दत पुगेको र निर्वाचनले अन्तरराष्ट्रिय समूहबाट समेत प्रसंशा बटुल्न सफल भएको मैले महशुस गरेको छु ।

लोकतन्त्रले प्रदान गरेको आफ्ना प्रतिनिधि चुन्ने अधिकारको प्रयोग गरी यो महान् उत्सवमा नेपाली नागरिकले देखाउनुभएको उत्साहपूर्ण सहभागिताले हाम्रो लोकतान्त्रिक प्रणालीप्रतिको अटुट विश्वासलाई पुनः पुष्टि गरेको छ र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याएको छ । मतदाताले मतदान केन्द्रसम्म पुगेर व्यक्त गर्नुभएको मतादेशले मुलुकको भविष्यलाई दिशानिर्देश गरेको छ ।

निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व अब जनप्रतिनिधिको काँधमा आएको छ । लोकतन्त्रमा मत फरक हुन सक्छन्, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु । संघीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न म यस अवसरमा सबैमा हार्दिक आह्वान पनि गर्दछु ।

अन्त्यमा, यो जलपान समारोह आयोजना गरेर निर्वाचनमा सहयोग पु¥याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई एकै स्थानमा भेला भई अनुभव साटासाट गर्ने अवसर प्रदान गरेकोमा त्यसका लागिसमेत धन्यवाद दिन चाहन्छु ।
जय नेपाल !