प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ धन्यवाद ज्ञापन कार्यक्रममा माननीय कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गर्नुभएको सम्बोधन

११ चैत २०८२

यस कार्यक्रममा पाल्नु भई विषम परिस्थितिमा घोषित निर्वाचनमार्फत् लोकतान्त्रिक प्रणालीको सुदृढीकरणको हाम्रो साझा प्रयासलाई मार्गदर्शन,ऊर्जा र प्रेरणा प्रदान गर्नुहुने सम्माननीय राष्ट्रपतिज्यू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यस कार्यक्रममा  समुपस्थित सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू तथा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, प्रतिनिधि सभाका ज्येष्ठ माननीय सदस्यज्यू लगायत सम्पूर्ण विशिष्ट व्यक्तित्वहरू तथा अतिथिज्यूहरुमा हार्दिक स्वागत अर्पण गर्दछु।

संविधान र कानुनले सुम्पिएको जिम्मेवारीअनुसार निर्वाचनमार्फत जनताको सार्वभौम अधिकारको अभ्यास सुनिश्चित गर्नु र लोकतन्त्रको थप सुदृढीकरणमा योगदान पुर्‌याउनु नै निर्वाचन आयोगको प्रमुख दायित्व हो। यस संवैधानिक दायित्व निर्वाह गर्ने कार्यको ‌औपचारिक समापन एवम् धन्यवाद ज्ञापन कार्यक्रममा विशिष्ट अथितिज्यूहरूको गरिमामय उपस्थितिले निर्वाचन आयोग परिवारलाई थप हौसला, ऊर्जा र आत्मविश्वास प्रदान गरेको अनुभूति भएको व्यहोरा निवेदन गर्दछु।

विषम अवस्था र चुनौतीपूर्ण परिस्थितिका बीच प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२, घोषणा भएपश्चात आयोगले आफ्नो आन्तरिक कार्यतालिका निर्माण गरी योजनाबद्ध रूपमा निर्वाचन सञ्चालन र व्यवस्थापनका कार्यहरू सम्पादन गर्दै शान्तिपूर्ण, स्वच्छ, निश्पक्ष र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न भई निर्धारित समयमैं सम्माननीय राष्ट्रपतिज्यू समक्ष परिणामसहितको प्रतिवेदन पेश गर्न सफल भएकोमा आयोग परिवार गौरवान्वित भएको छ।

सम्माननीय राष्ट्रपतिज्यू,

निर्वाचनको मिति घोषणादेखि निर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश गर्दासम्मको करिब छ महिनाको अवधिमा आयोगले विभिन्न जटिलता र व्यवधान बेहोर्नु पर्‌यो। तथापि आयोग र आयोगमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता, व्यवसायिकता र अटुट क्रियाशीलता एवम् विभिन्न निकाय, संघसंस्था र सरोकारवालाको सुभेच्छा र सहकार्यबाट समस्याको तत्क्षण सम्बोधन गरी कार्यतालिका बमोजिम नै मतदाता नामावली दर्ता, राजनीतिक दल दर्ता, अन्तिम मतदाता नामावली प्रकाशन, बन्दसूची पेश, मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको नियुक्ति, अभिमुखीकरण कार्यक्रम सञ्चालन, १६५ मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको कार्यालय स्थापना, क्षमता विकास, मतदाता शिक्षा, स्वयमसेवक परिचालन, निर्वाचन सामग्री खरिद तथा ढुवानी व्यवस्थापन, आर्थिक व्यवस्थापन, निर्वाचन कार्यक्रम सञ्चालन, अनलाइन प्रणालीहरुको अद्यावधिक सुसञ्चालन र समन्वय, आचारसंहिताको तर्जुमा एवम् कार्यान्वयन, पर्यवेक्षण व्यवस्थापन, अनुगमन, मतदान र मतगणना लगायतका कार्यहरू समयमैं सम्पन्न भए।

निर्वाचनको घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता नगरिने कानुनी व्यवस्था रहेकोमा ठूलो संख्यामा युवा मतदाताहरू मतदाता नामावलीमा दर्ता हुन बाँकी रहेको तत्कालिन अवस्थामा आयोगले ऐन संशोधनको प्रक्रिया अगाडि बढाउँदै सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी भई मतदाता नामावली दर्ता प्रणाली र राष्ट्रिय परिचयपत्र प्रणालीका बीचमा अन्तर्आवद्धता कायम गरी मतदाता नामावली दर्ता कार्य अनलाइन रुपमा समेत गरिएको थियो। निर्वाचनको बारेमा अनेक कोणबाट अभिव्यक्त संशयका बीच आयोगले राजनीतिक दलहरूसँग परामर्श बैठकको आयोजना गर्दै सरकार र सरोकारवालासँग समेत निरन्तर छलफल गरी निर्वाचनका लागि सहज र उपयुक्त वातावरण तयार गर्न अनवरत क्रियाशील रह्यो।

आयोगमा कल सेन्टर, संयुक्त निर्वाचन सञ्चालन केन्द्र, निर्वाचन सूचना संप्रेषण तथा समन्वय केन्द्र, सूचना सदाचार प्रवर्द्धन इकाइ तथा मिडिया सेन्टर स्थापना गरी निर्वाचन सम्बन्धी आधिकारिक सत्यतथ्य जानकारी संप्रेषण गर्ने र हानीकारक सूचना तथा जानकारी हटाउने कार्य निरन्तर जारी रह्यो। यसरी आयोग र सम्बद्ध सबै पक्षको अनवरत प्रयासबाट निर्वाचन विरूद्धका विभिन्न आशंका क्रमश: धुमिल हुँदै निर्धारित मितिमा मतदाताको अभूतपूर्व उत्साहका बीच निर्वाचन सम्पन्न भएको छ।

सम्माननीय राष्ट्रपतिज्यू,

यसरी हालै सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन तत्कालीन विषम परिस्थितिको शिघ्र र शान्तिपूर्ण निकासका दृष्टिले, निर्वाचन व्यवस्थापन तथा सञ्चालनका दृष्टिले एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकका पर्यवेक्षण प्रतिवेदनमा प्राप्त विवरणका दृष्टिकोणले समेत नेपालको यो निर्वाचन ऐतिहासिक रूपमा सफल भएको छ। यस्तो महत्वपूर्ण राष्ट्रिय कार्यभार सम्पादन गर्न पाउँदा मैले व्यक्तिगत रुपमा पनि गौरवान्वित भएको महशुस गरेको छु। निर्वाचन आयोगलाई नेपाल सरकारले ६ अर्व ७७ करोड बजेट उपलब्ध गराएकोमा आयोग, अन्तर्गतका ७७ कार्यालय र १६५ मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको कार्यालयबाट करिब ५ अर्व 37 करोड मात्र खर्च भएको छ। यस सन्दर्भमा, प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का केही मूलभूत विशेषताहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु।

१. विकेन्द्रित निर्वाचन सामग्री व्यवस्थापन तथा अनुगमन

विगतका निर्वाचनमा निर्वाचन सामग्री व्यवस्थापन तथा आचारसंहिताको कार्यान्वयन तथा अनुगमन मूलत: केन्द्रीय तहबाटमात्रै हुन्थ्यो। यस निर्वाचनमा स्थानीय तहमा प्राप्त हुन सक्ने वा खरिद गर्न सकिने ३७ प्रकारका निर्वाचन सामग्री जिल्लास्तरबाटै खरिद गरी व्यवस्थापन गर्नुका साथै आचारसंहिताको दुईवटा महत्वपूर्ण पक्षलाई अनुगमन गरी व्यवस्थित तुल्याउन प्रत्येक जिल्लामा छुट्टाछुट्टै अनुगमनकर्ता (कोष तथा लेखा नियन्त्रक र सहायक प्रमुख जिल्ला अधिकारी) लाई तोकिएको थियो।

२. सार्वजनिक निकायबाट मतपत्र छपाइ एवम् खरिद व्यवस्थापन

विगतका निर्वाचनहरूमा निर्वाचन सामग्रीहरू निजीक्षेत्रसँग खरिद हुने गरेकोमा यस निर्वाचनमा  निर्वाचन सामग्री सार्वजनिक निकाय (खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग ८ प्रकारका र नेपाल प्रज्ञा प्रतिष्ठानसँग ५ प्रकारका निर्वाचन सामग्री) बाटै खरिद गरिएको थियो। साथै, मतपत्र छपाइ साविकमा जस्तै जनक शिक्षा सामग्री केन्द्रबाटै गरिएको थियो।

३. डिजिटल एवम् घरदैलोमा आधारित मतदाता शिक्षा कार्यक्रम

अन्तर्राष्ट्रिय असल अभ्यास तथा नेपालको विद्यमान आवश्यकताका आधारमा प्रत्यक्ष तथा डिजिटल दुवै माध्यमबाट मतदाता शिक्षा तथा सूचना प्रवाह गर्नुपर्ने अवस्थालाई मध्यनजर गरी आयोगले प्रत्यक्ष र डिजिटल दुबै माध्यमबाट मतदाता शिक्षा तथा सूचना सम्प्रेषण गरेको थियो। यसका लागि देशका 6743 वटै वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको थियो भने मतदाता शिक्षा इकाइबाट उत्पादन गरी आयोगका आधिकारिक सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट डिजिटल सूचना सम्प्रेषण गरिएको थियो।

४. प्रचार प्रसार खर्चका लागि बैङ्‍क खाता खोल्ने व्यवस्था

यस अघिका निर्वाचनहरूमा निर्वाचनमा हुने खर्च सम्बन्धमा विभिन्न गुनासाहरू प्राप्त हुने गरेको अनुभव समेतका आधारमा यस पटकको निर्वाचनमा आयोगले नेपाल राष्ट्र बैंकसँग समन्वय गरी प्रत्येक उम्मेदवारले बैंकमा छुट्टै निर्वाचन प्रचारप्रसार खर्च खाता खोल्नुपर्ने व्यवस्था मिलाएको थियो। सो बमोजिम कूल 2165 उम्मेदवारले निर्वाचन प्रचार प्रसार खर्चका लागि बेग्लै खाता खोली सञ्चालनमा ल्याएका थिए।

५. वातावरणमैत्री निर्वाचन

विश्व परिवेशलाई मध्यनजर गरी वातावरणमैत्री निर्वाचनका लागि भौतिक साधनको न्यूनतम उपयोग तथा उपलब्ध स्रोत र साधनको पुन: प्रयोग समेत गर्ने गरी आचारसंहिता तयार गरिएको थियो। निर्वाचनमा उपलब्ध भएसम्म स्थानीय स्रोत साधनलाई अधिकतम उपयोगमा ल्याइएको थियो भने कागजको प्रयोगलाई न्यूनीकरण गरिएको थियो। साथै, विगतका निर्वाचनमा प्रयोग भई मौज्दात रहेका निर्वाचन सामग्रीको यस निर्वाचनमा पुन: प्रयोग गरिएको थियो।

६. विशेष निर्वाचन : सहयोग, समन्वय र सहकार्य 

यो निर्वाचन नियमित निर्वाचन नभएर विशेष परिस्थितिमा भएको निर्वाचन थियो। यस परिस्थितिमा आयोगको सक्रियता र सहजीकरणमा तिनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत लगायत सबै सरोकारवाला निकायको साथ, सहयोग र सहकार्यमा निर्वाचन सम्पन्न भयो।

७. शान्तिपूर्ण निर्वाचन

यो निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र मतदाताबाट अभूतपूर्व संयम र सद्‌भाव प्रदर्शन भई ऐतिहासिक रूपमा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न भएको छ। निर्वाचनमा कुनैपनि मतदान केन्द्रमा झैझगडा तथा द्वन्द्वका कारणबाट अप्रिय घटना भएनन् र कुनै पनि मतदान केन्द्रमा पुन: मतदान गर्नु परेन। पर्यवेक्षण संस्थाहरूले नेपालको इतिहासमा नै शान्तिपूर्ण निर्वाचन भनी यस निर्वाचनलाई मूल्याङ्‍कन गरी प्रशंसा सहितका प्रतिवेदन प्राप्त भएका छन्।

८. न्यून निर्वाचन विवाद

विगतका निर्वाचनहरूमा आचारसंहिता, उम्मेदवारको योग्यता, निर्वाचन सुरक्षा तथा कर्मचारीको आचरणजन्य विषयहरूका कारण विवाद देखिने गरेकोमा यस निर्वाचनमा त्यस्ता प्रकारका विवादहरू एकदमै न्यून रहे। निर्वाचन बदरका लागि एउटा पनि उजुरी परेन।

९. सकारात्मक पर्यवेक्षण पृष्ठपोषण  

यस निर्वाचनमा विभिन्न ८ देशका निर्वाचन व्यवस्थापन निकायका २४ जना प्रमुख र प्रतिनिधिहरु, २२ वटा कुटनीतिक निकायका १६४ जना प्रतिनिधि तथा ३ वटा अन्तर्राष्ट्रिय संस्थाका ३९ जना पर्यवेक्षकहरूले निर्वाचनको पर्यवेक्षण गरी निर्वाचन शान्तिपूर्ण भएको, मतदाताको सहभागिता उत्साहजनक रहेको र समग्रमा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय भएको भनी मुक्तकण्ठले प्रशंसा गरेका छन्। विश्व समुदायबाट नेपालको यो निर्वाचनको सुक्ष्म ढंगले अवलोकन भई जेनजी विद्रोहपछि निर्धारित ६ महिनाभित्रै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनुलाई अत्यन्त सकारात्मक रूपमा लिइएको छ।

सम्माननीय राष्ट्रपतिज्यू,

यो निर्वाचनलाई सफल बनाउन नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, नागरिक समाज तथा सम्पूर्ण मतदाताबाट प्राप्त सहयोग, समन्वय र प्रतिबद्धता मुक्त कण्ठले प्रशंसा गर्न योग्य छ। कठिन परिस्थितिमा पनि उच्च व्यावसायिकता, इमान्दारिता र कर्तव्यनिष्ठाताका साथ खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, संचारकर्मी र स्वयंसेवक लगायत सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र मतदाताप्रति आयोग कृतज्ञ छ।

मतदाताहरूको उत्साहजनक सहभागिताले लोकतन्त्रप्रतिको जनविश्वासलाई अझ मजबुत बनाएको छ। जिम्मेवार र शान्तिपूर्ण तवरले मताधिकारको प्रयोग भएबाट लोकतान्त्रिक संस्कारलाई सुदृढ बनाएको अनुभूति भएको छ। निर्वाचनबाट स्थापित संस्था र माननीयज्यूहरुबाट जनअपेक्षाअनुसार सुशासन, विकास र समृद्धिमा योगदान पुग्नेमा आयोग विश्वस्त रहेको छ।

सम्माननीय राष्ट्रपतिज्यू,

प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएसँगै निर्वाचन समीक्षा र पृष्ठपोषण समेतका आधारमा आगामी निर्वाचनको तयारी गर्नका लागि आयोगको सामयिक क्रियाशीलता र सम्बद्ध सबैको सहकार्य, सहयोग र सद्‌भाव आवश्यक भएको छ। आगामी दिनमा निर्वाचन आयोगलाई थप व्यावसायिक र आधुनिक प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध छ। यसका लागि आयोगले नीतिगत तथा कानूनी सुधार, संस्थागत क्षमता विकास, प्रविधिको महत्तम उपयोग र विभिन्न निकाय एवं सरोकारवालासँगको समन्वय र सहकार्यमा जोड दिएको छ। आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजना अनुरूप संस्थागत सुदृढीकरण, राजनीतिक दल नियमन, मतदाता नामावली तथा निर्वाचन शिक्षा, प्रविधियुक्त निर्वाचन व्यवस्थापन एवं समन्वय, साझेदारी र सहकार्यका रणनीति अंगिकार गरिएको छ। जस अनुसार निर्वाचन शिक्षा र मतदाता जागरण, मतदाता नामावलीमा शुद्धता, पहुँचयोग्य मतदानस्थल, पारदर्शी निर्वाचन खर्च र सूचना सदाचार प्रवर्द्धन लगायतका उपाय अवलम्बन गरी निर्वाचनमा मतदाताको गुणात्मक सहभागिता अभिवृद्धि गर्ने कार्यमा सबै पक्षको निरन्तर सहयोग, सुझाव र सहकार्य प्राप्त हुने विश्वास आयोगले लिएको छ।

अन्त्यमा, यस निर्वाचनलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनु हुने सम्पूर्ण निकाय, संस्था, व्यक्तित्व तथा आम नागरिकप्रति हार्दिक आभार व्यक्त गर्दछु। साथै, आजको कार्यक्रमको सफल आयोजना गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु। यहाँ उपस्थित सम्पूर्ण विशिष्ट अतिथिजनप्रति पुनः आभार र कृतज्ञता व्यक्त गर्दै आफ्नो मन्तव्य टुङ्ग्याउँछु।
धन्यवाद।
नमस्कार।