उम्मेदवारहरूलाई निर्वाचन खर्च सम्बन्धी निर्देशन दिने र स्पष्टीकरण माग गर्ने सम्बन्धमा

निर्वाचन आयोगले संवत् २०७९ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिन भित्र निर्वाचन खर्चको विवरण पेश गर्ने २,३७३ (दुई हजार तीन सय त्रिहत्तर) जना उम्मेदवार र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारी दिई प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिन भित्र निर्वाचन खर्चको विवरण पेश गर्ने ३,१८८ (तीन हजार एक सय अठ्ठासी) जना उम्मेदवारहरू सहित जम्मा ५,५६१ (पाच हँजार पाच सय एकसठ्ठी) जना उम्मेदवारहरूलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण ७ (सात) दिनभित्र सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी आफू उम्मेदवार भएको जिल्लाको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नका लागि सम्बन्धित उम्मेदवारहरूलाई निर्देशन दिएको छ ।
साथै, आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ (पैंतीस) दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नु पर्ने कानूनी व्यवस्था भएकोमा संवत् २०७९ साल मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश निर्वाचनमा भाग लिई संघीय कानूनमा तोकिएको समयावधि भित्र निर्वाचन खर्चको विवरण नबुझाउने प्रतिनिधि सभातर्फ ३७ (सैंतीस) जना र प्रदेश सभातर्फ ३७ (सैंतीस) जना उम्मेदवारहरू सहित जम्मा ७४ (चौहत्तर) जना उम्मेदवारको नामावली आयोगको वेबसाइटमा प्रकाशन गरी त्यस्ता उम्मेदवारहरूलाई तोकिएको समयावधिभित्र के कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो ? तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोमा तपाईँहरूलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम किन कारवाही हुनु नपर्ने हो ? भनी सोही ऐनको सोही दफाको उपदफा (४) बमोजिम आफ्नो सफाई सहितको स्पष्टीकरण ७ (सात) दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगमा पेश गर्न आदेश दिएको छ ।