समानुपातिक उम्मेदवार निर्वाचित भएको घोषणा

निर्वाचन आयोगको आज मिति २०७९ चैत ६ गतेको बैठकबाट संवत् २०७९ सालको प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत जनता समाजवादी पार्टी, नेपालबाट बन्दसूचीको क्रम ५२, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएका शहनाज रहमानको निधन भई प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त हुन आएकोमा सो रिक्त हुन आएको पदमा बन्दसूचीको क्रम ५३, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम २ मा रहनुभएका मतदाता नम्बर ०६७४६२४९ को मन्जु शर्मालाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० को उपदफा (२) र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएको छ ।
निर्वाचित हुनु भएका उम्मेदवारको नामावली नेपाल राजपत्रमा प्रकाशन गर्ने र प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा ३८ को उपदफा (२) सँग सम्बन्धित अनुसूची–३० बमोजिमको प्रमाणपत्र प्रदान गर्ने निर्णय गरिएको छ । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको निर्णयको जानकारी संघीय संसद र सम्बन्धित दललाई दिइने छ ।