राष्ट्रपतिको निर्वाचन सम्पन्न

२५ फागुन २०७९

निर्वाचन आयोगको २०७९ माघ १६ गतेको निर्णय अनुसार आज फागुन २५ गतेका लागि निर्धारित राष्ट्रपतिको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचनमा ३३ हजार ८ सय दुई मतभार प्राप्त गरी राष्ट्रपतिको उम्मेदवार श्री रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ भने अर्का उम्मेदवार श्री सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गर्नुभएको छ ।

निर्वाचनमा ३ सय १३ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो । राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम रहेको थियो । संघीय सांसद्को मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुने व्यवस्था छ ।

विजयी उम्मेदवार श्री रामचन्द्र पौडेललाई निर्वाचन अधिकृतको कार्यालय, नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी नियमावली, २०७४ को नियम ४१ बमोजिम निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलिया, आयुक्तहरू माननीय रामप्रसाद भण्डारी, माननीय डा. जानकी कुमारी तुलाधर र माननीय सगुन शम्शेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीलगायत आयोग परिवारले मुलुकको सर्वाेच्च तथा सम्मानित पद राष्ट्रतिमा निर्वाचित हुनुभएकोमा श्री रामचन्द्र पौडेललाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न सम्बन्धित राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा सहभागी हुने निर्वाचक मण्डलका सदस्य, निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबै पक्षमा आयोग हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले यस निर्वाचनको परिणामसहितको प्रतिवेदन मिति २०७९ फागुन २६ गते शुक्रबार सम्माननीय राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको छ ।