रौतहट र बैतडीमा निर्वाचन समीक्षा कार्यशाला

३ माघ २०७९

निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समीक्षाका लागि आज मधेश प्रदेशको रौतहट र सुदूरपश्चिम प्रदेशको बैतडीमा निर्वाचन समीक्षा कार्यशाला आयोजना गरेको छ ।

समतदान अधिकृतहरूका लागि आयोजित रौतहटको समीक्षा कार्यक्रमको निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर र सबै सरोकारवालाका लागि बैतडीमा आयोजित समीक्षा कार्यक्रमको आयोगका सचिव गोकर्णमणि दुवाडीले शुभारम्भ गर्नुभयो । आयोगले यसअघि प्रदेश नं. १ को ताप्लेजुङ, बागमती प्रदेशको दोलखा, गण्डकी प्रदेशको स्याङ्जा र कर्णाली प्रदेशको सल्यानमा निर्वाचन समीक्षा कार्यशाला सम्पन्न गरिसकेको छ । लुम्बिनी प्रदेशको रोल्पामा समीक्षा कार्यशाला हुन बाँकी छ ।

रौतहटको गौरमा मंगलबार आयोजित कार्यक्रमको उद्घाटनसत्रमा निर्वाचन आयुक्त डा तुलाधरले निर्वाचनमा के के राम्र पक्ष र कमजोरी रहे भन्नेबारेमा बुँदागतरूपमा सुझाव माग गर्दै आयोगबाट आगामी दिनमा सम्बोधन हुनुपर्ने विषयमा सम्बोधन गर्दै जाने बताउनुभयो ।

निर्वाचन समग्रमा मितव्ययी भएको उल्लेख गर्दै उहाँले कानूनको पालनामा आयोगले कुनै कसर बाँकी नराखेको स्पष्ट गर्नुभयो । उहाँले मतदाता नामावलीमा शुद्धीकरण र आचारसंहिताको कार्यान्वयन गराउँदै निर्वाचनलाई सूचनामैत्री बनाउन आयोगले भूमिका निर्वाह गरेको स्पष्ट गर्नुभयो ।

रौतहटको कार्यक्रममा आयोगका तर्फबाट भएका असल अभ्यास, समस्या र सुधारका उपायबारे सहसचिव तुलसीबहादुर श्रेष्ठ तथा बैतडीमा आयोजित कार्यक्रममा उपसचिव सूर्यप्रसाद अर्यालले प्रस्तुतीकरण गर्नुभएको थियो ।