निर्वाचन समीक्षा कार्यशालाबाट प्राप्त सुझावले आयोगलाई कानून निर्माण, नीतिगत व्यवस्था, संरचनागत सुधारमा पृष्ठपोषण हुनेछ : आयुक्त डा. तुलाधर

३० पुष २०७९

निर्वाचन आयोगले गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को ‘निर्वाचन समीक्षा कार्यशाला सम्पन्न गरेको छ । निर्वाचन समीक्षा कार्यशालामा आयोगबाट निर्वाचन आयुक्त माननीय डा. जानकी कुमारी तुलाधर, सहसचिव एवं प्रवक्त शालिग्राम शर्मा पौडेल, उपसचिव कमल भट्टराई सहभागी हुनुहुन्थ्यो ।

कार्यशालामा स्याङ्जा जिल्लाका माननीय जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत रोमाकन्त ज्ञवाली, प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्री, जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, स्याङ्जा जिल्लाका जिल्ला न्यायाधीवक्ता, गण्डकी प्रदेशका निर्वाचन अधिकारी, स्याङ्जा जिल्ला निर्वाचन अधिकारी, मतदान अधिकृतहरू एवं सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यशालामा निर्वाचन आयुक्त डा. तुलाधरले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको विभिन्न थिममा विभिन्न सरोकारवाला पक्षसँग समीक्षा गर्ने क्रममा स्याङ्जा जिल्लामा निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मतदान अधिकृतहरूसँग अन्तरक्रिया गरी सुझाव प्राप्त गर्ने आयोगको उद्देश्य रहेको बताउनुभयो ।

समीक्षा कार्यशालाबाट मतदान अधिकृतहरूले फिल्डमा भोगेका अनुभव र सुझाव आयोगलाई प्राप्त हुने विश्वास लिएको बताउनुहुँदै उहाँले प्राप्त सुझावलाई आयोगले कानून निर्माण, नीतिगत व्यवस्था, संरचनागत सुधारमा पृष्ठपोषण हुने बताउनुभयो ।
निर्वाचनको महत्वपूर्ण दिन ‘मतदानको दिन’ फिल्डमा खटिने मतदान अधिकृतहरूले भोग्नुभएको समस्या र उहाँहरूले दिनुभएका सुझावलाई कार्यान्वन गर्दै अघि बढ्न आयोग प्रतिबद्ध रहेको आयुक्त डा. तुलाधरले बताउनुभयो ।
समीक्षा कार्यशालामा आयुक्त डा. तुलाधरले आयोगका तर्फबाट भएका नवीन अभ्यास, नीतिगत सुधार, कानूननी व्यवस्था आदिका बारेमा विस्तृतमा जानकारी गराउनु भएको थियो ।

उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गराउन आ–आफ्नो तह र तप्काबाट भूमिका निर्वाह गर्ने सबै सरोकारवाला पक्षहरूलाई धन्यावद दिनुभयो ।
कार्यशालामा आयोगका तर्फबाट सहसचिव एवं प्रवक्त शालिग्रम शर्मा पौडेलले प्रस्तुति गर्नुभएको थियो ।

कार्यशालामा पाँच वटा समूहमा मतदाता नामावली तथा मतदाता परिचयपत्र, मतदान केन्द्र, मतदान प्रक्रिया, मतगणना तथा सदर, बदर मतको अवस्था एवं प्रकृति, राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारका निर्वाचन प्रतिनिधिहरु सँगको सहकार्य, राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिताको कार्यान्वयन, अन्तरनिकाय समन्वय, जनशक्ति व्यवस्थापन, वित्तीय व्यवस्थापन, निर्वाचन सामाग्री तथा ढुवानी व्यवस्थापन, निर्वाचनमा सुरक्षा व्यवस्थापन, मतपत्र व्यवस्थापन (डिजाइन, आकार, रङ्ग, निर्वाचन चिन्हको व्यवस्थापन, मतदाता शिक्षा, मतदानको निष्पक्षता, निर्वाचन सम्बन्धी तालिम तथा अभिमुखीकरण, निर्वाचन अनुगमन तथा पर्यवेक्षण, निर्वाचनमा लैङ्गिक तथा समावेशीकरण, निर्वाचन सम्बन्धी कानूनी व्यवस्था, निर्वाचनमा सुचना प्रविधिको प्रयोग, निर्वाचनमा सामाजिक सञ्जालको प्रयोग, निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्तिको नियमन विषयमा छलफल गरी समूहगत प्रस्तुति गरिएको थियो ।