आयोगद्वारा प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यशाला

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमको सुरुआत गरेको छ । निर्वाचनको अन्तिम नतिजा प्रकाशन पश्चात् आयोगले प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम आयोजना गरेको हो ।
आयोगल २०७९ पुस २४ बागमती प्रदेशको दोलखा, पुस २५ गते प्रदेश नं. १ को ताप्लेजुङ, र कर्णाली प्रदेशको सल्यानमा निर्वाचन समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
बागमती प्रदेशको समीक्षा कार्यक्रममा आयोगबाट माननीय प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, उपसचिव कमल ज्ञवाली, शाखा अधिकृत मुकुन्द आचार्यलगायतले सहभागिता जनाउनुभएको थियो ।
प्रदेश नं. १ को समीक्षा कार्यक्रममा आयोगबाट माननीय आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा सहसचिव यज्ञप्रसाद भट्टराई, उपन्यायाधिक्ता गुरुप्रसाद वाग्ले, शाखा अधिकृत गोकुल भुजेलले सहभागिता जनाउनुभएको थियो भने कर्णाली प्रदेशमा आयोगका माननीय आयुक्त डा. जानकीकुमारी तुलाधरको नेतृत्वमा सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेल, उपसचिव सूर्यप्रसाद अर्याललगायतले सहभागिता जनाउनुभएको थियो । कार्यशालामा आयोगबाट सम्पादन भएका कार्यहरूका बारेमा प्रस्तुति गरिएको थियो ।
कार्यशालामा मतदाता नामावली, मतदाता परिचयपत्र, निर्वाचन कार्यतालिका, उम्मेदवार मनोनयन, राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रचार प्रसार खर्च, मतदाता शिक्षा, सामाजिक सञ्जालको प्रयोग, मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति, निर्वाचन सामग्री व्यवस्थापन, निर्वाचन सुरक्षा व्यवस्थापन, मतदान केन्द्र, मतदान प्रक्रिया, मतगणना र मतपरिणाम, मतपत्र व्यवस्थापन, सूचना प्रविधिको प्रयोग, जनशक्ति व्यवस्थापन, वित्तीय व्यवस्थापन, अनुगमन तथा पर्यवेक्षण, लैङ्गिक तथा समावेशीकरण, निर्वाचन आचारसंहिताको पालना र निर्वाचन विवाद निरुपणजस्ता विषयमा समूह बनाइ गरी सहभागीहरूबीच छलफल गरिएको थियो ।
आयोगले विगतको निर्वाचन र त्यसबाट सिकेका असल अभ्यासहरूलाई समेतका आधारमा यो निर्वाचनमा केही नवीनतम अभ्यासहरू प्रयोग गरी निर्वाचन सम्पन्न गरेको छ ।
समीक्षा कार्यक्रममा जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन अधिकारी, मतदान अधिकृत, जिल्लास्थित स्थानीय तहका प्रमुख, मतदान अधिकृत, राजनीतिक दलका प्रतिनिधि लगायत सरोकारवाला पक्षको सहभागिता रहेको थियो ।