संविधान र कानूनले दिएको अधिकार र अवसरबाट महिलालाई राजनीतिमा वञ्चित गर्न हुँदैन : प्रमुख आयुक्त थपलिया

२३ मंसिर २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानूनले दिएको अधिकार र अवसरबाट महिलाहरूलाई राजनीतिमा वञ्चित गरिन नहुने बताउनुभएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आज आयोगले आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा लैङ्गिकता र समावेशीता’ विषय अन्तक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनसम्बन्धी कानूनहरू तुलानात्मकरूपमा महिलामैत्री भए पनि व्यवहार अझै भेदभावपूर्ण रहेको पाइएको बताउनुभयो ।

उहाँले निर्वाचन आचारसंहिता र आयोगका नीति एवं निर्णयहरूबमोजिम मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुनै महिला हिंसा भएमा उजुरी दिन भनिएकामा औपचारिकरूपमा उजुरी प्राप्त नभए पनि समाजमा राजनीतिमा लागेका महिलामाथि पनि हिंसा कायम रहेकामा दुई मत नरहेको स्पष्ट गर्नुभयो ।

“ध्यानाकर्षंण गराउँदा गराउँदै पनि निर्वाचनमा उम्मेदवारी चयनका क्रममा राजनीतिक दलबाट विभेद भएको हामीले पाएका छौँ । महिला नेतृत्वको सक्षमता र योगदानलाई बेवास्ता गरेर उहाँहरूको अधिकार र अवसरलाई राजनीतिक दल वा कुनै पक्षबाट वञ्चित गरिनु हुँदैन भन्ने आयोगको भनाइ हो ।’ प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘कोटा पु-याउनका लागि मात्रै उम्मेदवारी दिएको देखिएको छ । सञ्चारमाध्यमले पनि पुरुष उम्मेदवारलाई हेवी वेइट र महिला उम्मेदवारलाई कम वोइटका भनेर चित्रण गर्ने प्रवृत्ति छ । यसमा सुधार आउन जरुरी छ ।’

प्रमुख आयुक्त थपलियाले निर्वाचन कानूनमा देखिएका सुधारात्मक पक्षहरुलाई संसद्को आउने अधिवेशनमा मस्यौदा प्रस्तुत गरिने र आगामी निर्वाचनमा लैङ्गिक हिंसा अनुगमन संयन्त्र खडा गरिने जानकारी गराउनुभयो ।

कार्यक्रममा निर्वाचन आयुक्त डा. जनकीकुमारी तुलाधरले संविधान, कानून र नीतिहरू बमोजिम निर्वाचन व्यवस्थापनमा महिला सहभागिता र लैङ्गिक समानता कायम गर्न आयोगले कुनै कसर बाँकी नराख्ने स्पष्ट गर्दै प्राप्त सुझावका आधारमा कानूनहरूको परिमार्जनका लागि पहल गर्ने बताउनुभयो । उहाँले मतदाता नमावली अद्यावधिक गर्दा महिलाहरूको नामलाई अधिकतम रुपमा अद्यावधिक गराएर मतदानको अधिकारको उपयोग गर्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा आयोगका उपसचिव कमल भट्टराईले निर्वाचनका क्रममा लैंगिक तथा समावेशिता सम्बन्धी आयोगले लिएका नीति तथा भएका प्रयासबारे प्रस्तुतीकरण दिनुभएको थियो ।

 

तस्बिर : प्रदीपराज वन्त, रासस